काठमाडौं । नेकपा एमालेका सांसद् भीम रावलले बजेटमाथिकाे छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित रहेकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा खर्च कटाैतीकाे प्रस्ताव पेस गर्दै सांसद् रावलले सदनमा अर्थमन्त्री नदेखेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'जनताकाे जनप्रतिनिधिकाे हैसियतले याे जवाफदेही व्यवस्था हाे भन्ने कुरा मैले सरकारलाई स्मरण गराउन चाहान्छु,देशकाे अर्थतन्त्र संकटग्रस्त छ,हामी यसमा छलफल गर्दै छाैं अर्थमन्त्री हुनुहुन्न । '
रावलले कुरा नटुंग्याउँदै सभामुख अग्निप्रसाद सापकाेटाले अर्थमन्त्री आएर गएकाे बताउनुभयाे । 'उहाँ आउनुभएको थियो, मैले पनि देखेँ उहाँ अस्वस्थ हुनु भएर मसँग बिदा मागेर जानुभएको छ, उहाँले अर्थ मन्त्रालयसँग सम्बन्धित विषयलाई शिक्षामन्त्रीलाई टिपोट गरेर राख्नु भन्नुभएको छ, यो मानवीय कुरालाई ख्याल गर्नुहोला'-सभामुखले भन्नुभयाे ।
त्यसपछि सांसद् रावलले काठमाडौंको सबैभन्दा राम्रो अस्पतालमा लगेर अर्थमन्त्रीको उपचार गराएर बजेटमा उठेका प्रश्नको जवाफ दिनेगरी स्वस्थ बनाउन आग्रह गर्नुभयाे । 'बजेट बनाउने बेलामा थकाइ पनि लाग्यो होला, के भाे कसाे भाे, म याे सदनबाट अर्थमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु, उहाँलाई काठमाडाैंकाे सबैभन्दा राम्राे अस्पतालमा लगेर याे बजेटमा उठेका प्रश्नकाे जवाफ दिनेगरी, आजै उहाँकाे स्वास्थ्य परीक्षण गराइ, उहाँलाई स्वस्थ बनाइ, हामीलाई जानकारी गराइयाेस् भन्ने हार्दिक अनुराेध गर्न चाहान्छु '-रावलले भन्नुभयाे ।
