काठमाडाैं । नेकपा एमालेका सांसद् डा. विजय सुब्बाले 'विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक तत्काल अगाडि बढाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेमाथिकाे मन्त्रालयगत छलफलमा भाग लिँदै वरिष्ठ साहित्यकार समेत रहनुभएका सांसद् सुब्बाले सदनमा विचाराधीन साे विधेयकमाथि तत्काल छलफल थाल्न माग गर्नुभयाे । 'विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा पेस भएर प्रतिनिधि सभामा आएकाे छ, त्यस विधेयकमाथि तत्काल छलफल गरियाेस्, याे सिंगाे आयुर्वेदिक विश्वविद्यालय र यसकाे ठूलाे छाता भएकाले यसलाई ध्यान दिन सके सरकारकाे पनि नामै चल्छ'- उहाँले भन्नुभयाे ।
साझा प्रकाशनको अध्यक्ष समेत रहनुभएका सांसद् सुब्बाले साझाकाे गरिमा फर्काउनका लागि पहल गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । शैक्षिक माफिया र पूर्व शिक्षामन्त्रीकाे निर्देशनमा साझा प्रकाशन चुर्लुम्म डुबेकाे भन्दै उहाँले जनक शिक्षा सामग्री केन्द्र पनि साेही बाटाेमा गएकाे बताउनुभयाे ।
जनक शिक्षाले किन समयमा पाठ्यपुस्तक छापेन भनेर शिक्षामन्त्रीले पहल गर्नुपर्नेमा त्यसाे हुन नसकेकाे समेत सांसद् सुब्बाले बताउनुभयाे । साझा प्रकाशनले ११ र १२ सम्मकाे पाठ्यपुस्तक छपाइ र बिक्री वितरण गर्दा सम्म यस्ताे समस्या नआएकाे उहाँले स्मरण गराउनुभयाे ।
साझामा सञ्चालक भएर गएका साहित्यकार, पत्रकार लगायले साझा डुब्नमा मद्दत गरेका भन्दै उहाँले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा मुद्दा परेपनि अगाडि नबढेकाे बताउनुभयाे ।
साझालाई माथि उठाउने विषयमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरुकाे कुरा सरकारले नसुनेकाे उहाँले गुनासाे गर्नुभयाे । सांसद् सुब्बाले भन्नुभयाे - 'याे एेतिहासिक संस्था, जुन राणा र राजालाई चाहियाे,हामी लाेकतान्त्रिक भन्नेलाई चाहिएन, हामीले यस विषयमा मन्त्रालयमा पटकपटक भन्याैं, हामीले साझाले पहिले गर्दै आएका काम फिर्ता गराइयाेस्,कर्मचारीले भात खान पाउँछन् भन्याैं,तर कुरै सुनिएन ।'
आफूहरुले बुझाएकाे फाइल हेर्न शिक्षामन्त्रीकाे सचिवालयमा थन्किएकाे भन्दै उहाँले तत्काल अगाडि बढाउन ध्यानाकर्षण पनि गराउनुभयाे । साझाका कर्मचारीले अझैपनि तलब पाउन नसकेकाे भन्दै उहाँले यस विषयमा पनि शिक्षामन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे । बुढानिलकण्ड लगायत स्कूललाई ठूलाे रकम छुट्याउँदा सरकारले साझालाई वेवास्ता गरेकाे उहाँकाे गुनासाे छ ।
देशभक्ति विरुद्ध बनेकाे कम्फरटेबल सरकारले देशभक्न नागरिक उत्पादन गर्ने शिक्षा दिन्छ भन्ने आशंका व्यक्त गर्दै सांसद् सुब्बाले भन्नुभयाे - 'सरकारले राम्राे र असल शिक्षा दिने भनेकाे रहेछ, राम्राे भनेकाे देशभक्त नागरिक बनाउने शिक्षा दिने, अहिलेकाे देश बाहिरकाे इसारामा चल्ने कम्फररटेबल सरकारले देशभक्त हुनुहुन्न भन्ने उद्देश्य बाेकेकाे छ,यस्ताे कम्फरटेबल सरकारले देशभक्त नागरिक बनाउने शिक्षा दिन्छ कि दिँदैन ?'
भक्तपुरकाे ख्वाप कलेजले विभिन्न विषयमा सस्ताेमा पठाउने बताइरहेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'सस्ताेमा पठाउँछु भनेर भनिरहँदा सरकारले अनुमति दिन नमिलेकाे किन हाे ? जवाफ चाहियाे ।'
