काठमाडाैं । नेकपा एमालेका सांसद् महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकार देशकाे अर्थतन्त्र लगायत विषयमा गम्भीर बन्न नसेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् बस्नेतले नागरिकले देशमा सरकार नभएकाे अनुभूति गर्न नसकेका बताउनुभयाे । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नभएर अरु कसैले सरकार चलाइरहेकाे अनुभूति भइरहेकाे उहाँले बताउनुभयाे ।
सांसद् बस्नेतले भन्नुभयाे - 'प्रधानमन्त्रीज्यूको शारीरिक अवस्था अलि अस्वस्थ छ, प्रधानमन्त्री भन्दा अरु कसैले यो सरकार चलाइरहेको अनुभूति हामीलाई हुन्छ, मान्छेहरु भन्ने गर्छन्- बुढानीलकण्ठमा महाराजहरुले पो यो गरिरहेका छन् कि ? बालुवाटारका महारानी, खुमलटारका महाराजहरुले पो यो सरकार चलाइरहेका छन् कि ? अथवा कतिपयले भन्ने गर्छन् अनेक खालका स्वार्थ बोकेकाहरुले पो चलाइरहेका छन् कि ?'
सरकार जनताकाे मुटु भएपनि त्याे मुटुमा किरा परिसकेकाे टिप्पणी समेत सांसद् बस्नेतले गर्नुभयाे । 'सरकारकाे मुटुमा किरा परेकाे छ, वचनका काेर्राहरु हानिन्छन्, उद्याेगी व्यापारीहरु निराश छन्, अर्थतन्त्र ग्यास्ट्रिक र अल्सर हाेइन क्यान्सर हुने अवस्थामा पुगेकाे छ, बैंकहरु पैसा नभएर टाट पल्टिएकाे अवस्था छन्,विद्यालयहरु पाठ्यपुस्तक नभएरु बन्द हुने अवस्थामा छन्, किसानहरु मल नपाएर आगामी वर्ष खेती नगर्ने सल्लाह गरिरहेका छ्न्, डिग्री पढेका विद्यार्थीहरु म्यादी प्रहरीमा जागिर खान वाध्य छन्,तर सरकार यी कुरा देख्दैन'-उहाँकाे भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय १ सय ३९ दिन देखि बन्द रहँदा सरकार सेन्टर अफ एक्सीलेन्सका कुरा गरेर बसेकाे भन्दै उहाँले सरकारकै आदेशमा प्रहरी प्रयाेग गरेर त्रिविमा ताला लगाइएकाे बताउनुभयाे । महिला हिंसा दिनप्रतिदिन बढ्दो रहेकाे भन्दै उहाँले गृह मन्त्रालय बेखबर रहेकाे बताउनुभयाे । मूल्यवृद्धि आकाशिएकाे विषयमा वनि सरकार माैन रहेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
सरकारका मन्त्रीहरु बजेट कार्यान्वयन गर्न र संसद्को छलफलमा सहभागी हुनुकाे साटो आफ्नो मन्त्री पद जोगाउन लागिरहेका समेत सांसद् बस्नेतले बताउनुभयाे ।सेनिटेरी प्याड लगायत आयातमा छुट गर्ने अनि नेपालमै उत्पादन हुने वस्तुका कच्चा पदार्थ आयतमा राजश्व वृद्धि गरि नेपाली उत्पादनलाई निराश बनाई नेपाली मुद्रा विदेश पठाउने दिशामा लागेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । अर्थ मन्त्रीले व्यापारीलाई लाभ पुग्ने गरी छुट व्यस्थापन बजेटमा समावेश गरेकाे भन्दै महेशले विद्युतीय सवारीलाई प्रोत्साहन गर्नुको साटो मुल्य वृद्धि गरी सीमित व्यवसायीलाई पाेस्ने काम भएकाे उहाँले बताउनुभयाे ।
काठमाडौंकाे फोहोर व्यवस्थापनमा सरकारले चासाे नदिएकाे भन्दै उहाँले फाेहाेर व्यवस्थापनका नामका बञ्चरेडाँडामा सरकारले जनतामाथि अश्रुग्यास प्रहार गर्नु आपत्तिजनक रहेकाे बताउनुभयाे ।
आगामी आर्थिक वर्षका लागि विनियाेजित बजेट सरकारकाे नभएर मन्त्रीकाे भएकाे समेत महेशले बताउनुभयाे । बजेटबाट सत्ता पक्षकै सांसद् खुशी हुन नसकेकाे भन्दै उहाँले बजेटले जनतालाई राहत नभएर आहात दिने उहाँकाे भनाइ । सरकारले चुनाव केन्द्रित बजेट ल्याएकाे उहाँकाे भनाइ छ ।
