मोरङ । प्रदेश नं १ प्रदेश सभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट पेश भएको आर्थिक वर्ष २०७९/८० वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भयो ।
छलफलमा प्रदेशसभा विभिन्न सदस्यले बोल्ने क्रम सुरु भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीमप्रसाद आचार्यले नीति तथा कार्यक्रममा ठोस कार्यक्रम नभएको र यो कर्मकाण्डी हिसाबले आएकाले सच्याउन सदनको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कृषि, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, वनलगायतका क्षेत्रमा हुनपर्ने विकासका सम्बन्धमा क्षेत्रगत हिसाबले नछुट्याएको धारणा राख्दै भौतिक पूर्वाधारको रुपमा रहेको सडक, सिँचाइको निर्माण बिना अन्य विकासका कार्य टिकाउ नहुने भएकाले कार्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
आचार्यले मल, बीउ, सिँचाइ, प्रविधि, कृषिको मुख्य आधार भएकाले यस सम्बन्धमा नीति कार्यक्रममा उल्लेख नभएको चर्चा गर्दै यसले प्रदेशको कृषि उत्पादन २० प्रतिशत कम भई आत्मनिर्भर होइन परनिर्भर बनाउने विचार राख्नु भयो ।
उहाँले प्रदेशको नामकरणका लागि नेकपा एमालेले पूर्वमन्त्री हिक्मतकुमार कार्की सयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको र समिति सबै दलका सदस्यसँग छलफल एवं परामर्श गरी नाम टुंगो लगाउन पहल गर्ने जानकारी सदनलाई दिनुभयो ।
छलफलमा भाग लिँदै प्रदेश सभा सदस्य उमिता विश्वकर्माले प्रस्तुत नीति कार्यक्रममा कृषि उत्पादनका लागि ‘एक पालिका एक उत्पादन’ले कृषकलाई सक्षम बनाउने विचार राख्नुभयो । जसमाया गजमेरले भ्रष्टाचार नियन्त्रणको विषय उल्लेख नभएको चर्चा गर्दै महिला हिंसा, बाल विवाह अन्त्यका लागि सचेतना तथा महिलालाई आर्थिक आयआर्जन कार्यमा संलग्न गराउनुपर्ने धारणा राख्नुभयो ।
प्रदेश सभा सदस्य धीरेन्द्र शर्माले वार्षिक कार्यक्रममा नगदेबाली उत्पादनमा जोड दिनुपर्ने चर्चा गर्दै स्रोत र साधनअनुसार कार्यक्रम रहेकाले सफल हुने विचार राख्नुभयो । नारायणबहादुर मगरले ताप्लेजुङमा ओझेलमा रहेको फुनफाने झरना, पाथीभरा मन्दिरलगायतका धार्मिक पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेस सभा सदस्य वसन्तीदेवी यादवले कृषकलाई सहजरुपमा मल र बीउ उपलब्ध गराउने सम्बन्धमा कार्यक्रममा उल्लेख नभएको बताउँदै सबैलाई मान्य हुने प्रदेशको नामका लागि विराट, सगरमाथा वा कोसी राख्नुपर्ने सुझाव दिनुभयो ।
प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले सबै जातजातिका गरिबीका रेखामुनि रहेका नागरिकको पहिचान गरी प्रमाणपत्र दिनुपर्ने सुझाव दिँदै इ–रिक्सा सञ्चालनका लागि पालिकालाई सवारी चालक अनुमति वितरणको अधिकार दिनुपर्ने बताउनुभयो ।
अर्का सदस्य सूर्यमाराज राईले प्रस्तुत नीति कार्यक्रमले विकास र समृद्धिको आधार तय हुने विचार राख्दै विगतको सरकारको कार्यक्रमलाई निरन्तरता दिनु यो सरकारको उदारता रहेको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य हीराकुमार थापाले राष्ट्रिय आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको कृषि क्षेत्र उपेक्षित रहेको बताउँदै कृषि उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
शुन्य समय
प्रदेश सभा सदस्य राजकुमार ओझाले सरकारले प्रतिपक्षी दलका सदस्यसँग योजना माग नगरेको भन्दै नीति कार्यक्रममा प्रदेशको नामकरणका सम्बन्धमा उल्लेख नगरेकोले सच्याउनुपर्ने धारणा राख्नुभयो ।
प्रदेशसभाको अर्को बैठक जेठ २७ गते दिनका ११ः३० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी दिनुभयो ।
–रासस
