काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) की सांसद् चन्दा चौधरीले सत्ता गठबन्धनका उम्मेदवारले आफूमाथि आक्रमण गरेका बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् चाैधरीले वैशाख २७ गते महोत्तरीको मटिहानीमा ते आफूमाथि दुर्व्यवहार र आक्रमण भएकाे बताउनुभयाे । आफूमाथि दूर्व्यवहार गर्नेहरुलाई तत्काल कारबाहीकाे दायरामा ल्याउन उहाँले गृहमन्त्री बालकृष्ण खाँडकाे ध्यानाकर्षण गराउनुभयाे ।
गठबन्धन दलका उम्मेदवार, भाइ,भतिजा लगायत सय जना आएर आफ्नाे घरमा आएर ८० वर्षीया आमालाई धम्की दिएकाे चाैधरीले बताउनुभयाे । २७ वर्षअघि आफ्नाे दाईलाई वेपत्ता पारिएकाे भन्दै उहाँले फेरि साेही घटना आफूमाथि दाेहाेर्याउन खाेजिएकाे बताउनुभयाे । नेपाली कांग्रेसमा सक्रिय आफ्ना दाइकाे अहिलेसम्म सास र लासकाे अत्ताेपत्ताे नभएकाे चाैधरीले स्मरण गर्नुभयाे ।
आफू र आफ्नी ८० वर्षीया आमामाथि दूर्व्यवहार र आक्रमण हुँदा सुरक्षाकर्मीले बचाएको भन्दै उहाँले दाेषीलाई कारबाही गर्न माग गर्नुभयाे । 'कानुनसम्मत दाेषीलाई कारबाही हुनुपर्याे, मलाई न्याय चाहियाे, ममाथि आज भएकाे छ,भाेलि अरुमाथि हुन सक्छ,यस्ताे दाेषीहरु बलियाे नहाेस् भन्ने म चाहान्छु ।'
साे घटनाले अहिलेसम्म आफूलाई झस्काइरहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'त्यतिबेला म ४० मिनेट जति एउटा घरमा थुनिएर बसेँ, सशस्त्र प्रहरीका एसपीले आएर मलाई रेस्क्यु गर्नुभयो,याे कहाँकाे न्याय हाे ? यस्ताे घटना चुनावमा महिला र सांसद्माथि सायदै भएहाेला,त्यतिबेला पुलिस-प्रशासन नआएकाे भए मेराे ज्यान जाने थियाे'- चौधरीले भन्नुभयाे । याे गाउँमा भाेट माग्न किन आउँछाैं भनेर धम्की दिइएकाे उहाँले बताउनुभयाे । पार्टी अध्यक्ष र सांसद्ले पनि यसबारे कुरा उठाइसक्नुभएकाे भन्दै उहाँले आफूलाई न्याय चाहिएकाे बताउनुभयाे ।
सांसद् चौधरीमाथि वैशाख २७ गते मटिहानीमा एकीकृत समाजवादीका कार्यकर्ताले आक्रमण गरेका थिए ।
