काठमाडाैं । नेकपा एमालेकी सांसद् सुजिता शाक्यले उद्याेग-कलकारखानाका बाँकी रहेका केही अचल सम्पत्तिमाथि सरकारले नजर लगाएकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् शाक्यले विगतमा निजीकरणका नाममा ध्वस्त पारिएका उद्याेग कलकारखानाका बाँकी रहेका सम्पत्तिमाथि सरकारकाे गिद्दे दृष्टि परेकाे बताउनुभयाे । बढी विद्युत खपत हुने उद्याेगधन्दा र कलकारखाना संरक्षण गर्नुकाे साटाे सरकारकाे नजर उद्याेग धन्दाकाे सम्पत्तिमाथि परेकाे उहाँले बताउनुभयाे ।
'बढी विद्युत खपत हुने उद्याेगधन्दा र कलकारखाना संरक्षण र विस्तार गरेर विद्युत खपत गराउने कुरा त परै जाहाेस्, बरु उहिले निजीकरणका नाममा ध्वस्त पारिएका उद्याेग कलकारखानाका बाँकी रहेका केही अचल सम्पत्तिमाथि सरकारकाे गिद्दे दृष्टि परेकाे छ, राष्ट्रका नाममा बचेकाे केही अचल सम्पत्ति पनि अनेक बहानामा फेरि लिलामी गर्ने याेजना त छैन ? सरकारले यस्ताे धृष्टता कदापी नगराेस् सजग गराउन चाहान्छु'- शाक्यले भन्नुभयाे ।
हिउँद र वर्षायाममा विद्युतकाे माग र आपूर्तिबीचमा ठूलाे खाडल हुने गरेकाे भन्दै उहाँले यसका लागि आवश्यक संरचना लगायत व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गरारउनुभयाे ।
इन्डक्सन चुल्हाेका नाममा कमिशन खाने खेलमा नलाग्न पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । इन्डक्सन चुल्हाेकाे कथा पनि सेनिटरी प्याडकाे जस्तै हुन्छ कि भन्नेमा चिन्ता व्यक्त गर्दै उहाँले चुल्हाे मात्र नभएर त्यसमा प्रयाेग हुने भाँडा पनि उपलब्ध गराउन सुझाव दिनुभयाे ।
९० प्रतिशत कर कटाैती गरेर देशमै उत्पादन गर्ने उत्पादकलाई ठहरै पारेकाे उहाँकाे भनाइ छ । त्यसमा पनि ठूलाे कमिशनकाे बजार हल्ला चलेकाे भन्दै उहाँले हल्ला सत्य नहाेस् भन्ने कामना गर्नुभयाे । सांसद् शाक्यले भन्नुभयाे - 'जनताले इन्डक्सन चुल्हाे हाेइन बिजुलीकाे आपूर्ति र महशुल घटाइदिए पुग्छ भनेका छन्, जनआवाजकाे सुनुवाइ हाेस्,म सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु ।'
पेट्राेलियम पदार्थसहित दैनिक उपभाेग्य वस्तुमा मूल्यवृद्धि गरेर सरकारले जनतामाथि अन्याय गरिरहेकाे उहाँले बताउनुभयाे । 'पेट्राेलियम सहितकाे मूल्यवृद्धिले जनताकाे गम्भीर असर पारेकाे छ भन्ने सरकारलाई कति हेक्का छ ? म प्रश्न गर्न चाहान्छु - हप्तैपिच्छे मूल्यवृद्धि गरेर सरकारले जनजीवन कष्टकर बनाइ के सन्देश दिन खाेजेकाे हाे ?जवाफ चाहियाे'-शाक्यले भन्नुभयाे ।
एमाले सरकारका पालामा निर्मला हत्याकाण्डकाे कुरा उठाउनेहरु अहिले बलात्कार,हत्या र हिंसाका घटना बढ्दा माैन बसेकाे भन्दै सांसद् शाक्यले कडा आपत्ति जनाउनुभयाे । बालिका र किशाेरीहरुकाे सुरक्षा र संरक्षणका लागि गृहले कति छुट्याएकाे छ भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे ।
नागरिककाे जिउ धनकाे रक्षा गरिनेछ भन्ने गृह मन्त्रालयकाे नारामाथि टिप्पणी गर्दै त्यसकाे नमुना वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा देखिएकाे बताउनुभयाे । 'गृह मन्त्रालयले नागरिककाे जिउधनकाे रक्षा कसरी गर्नेरहेछ भन्ने नमुना त स्थानीय चुनावमा दाेलखा, रुकुम, अछाम, ताप्लेजुङ्, संखुवासभा, बाजुरा, रसुवा, राैतहट लगायत जिल्लामा फैलाएकाे राज्य आतंकबाटै देख्न पाइयाे, कतिले ज्यान गुमाए, कति घाइते उपचाररत छन्,यस्ताे खालकेा सुरक्षा हामीले चाहेकाे हाेइन'- उहाँले भन्नुभयाे । ती घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेकाे स्वास्थ्य लाभकाे कामना पनि शाक्यले गर्नुभयाे ।
मनसुन सुरु भएसकेकाे भन्दै उहाँले विपद् व्यवस्थापनका लागि तत्काल तयारी थाल्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । केपी ओली सरकारले अघि सारेका राष्ट्रिय गाैरवका आयाेजनामध्ये भेरीबबई सिंचाइ व्यवस्थापनमा ढिला भइरहेकाेमा आपत्ति जनाउँदै सांसद् शाक्यले भन्नुभयाे - 'किन यति धेरै ढिलाे भइरहेकाे छ ? यसलाई यथाशिघ्र सञ्चालनमा ल्याइयाेस्, सुनकाेशी मरिण डाइभर्सन लगायतकाे बजेट कटाैती भएकाे छ, यसकाे बजेट वृद्धि गर्न माग गर्छु ।'
