काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा दुई मन्त्रालयसहित तीन निकायका लागि विनियाेजित बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न विषयमा छलफल हुने कार्यसूची छ ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्र्तगत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सांसद् दुर्गा पौडेलले 'विनियोजन विधेयक, २०७९ अन्र्तगत शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सांसद् कृष्णभक्त पोख्रेलले 'विनियोजन विधेयक, २०७९ अन्र्तगत शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सांसद् शेरबहादुर तामाङले 'विनियोजन विधेयक, २०७९ अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
