काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै एमालेका उपमहासचिव समेत रहनुभएका सांसद् ज्ञवालीले अमेरिका भ्रमणबाट स्वयं प्रधानमन्त्री देउवाले नै सदनलाई जवाफ दिन माग गर्नुभयाे । प्रधानमन्त्रीकाे भ्रमणबाट सत्ता गठबन्धनकै घटकले प्रश्न उठाइरहेका बेला गम्भीर आशंका पैदा भएकाे उहाँले बताउनुभयाे ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सदनमा प्रधानमन्त्रीकाे भ्रमणबारे प्रश्न उठाउनु सत्ता गठबन्धनबीचकाे असमझदारी हाे या अरु के बुझ्ने भन्ने प्रश्न उठेकाे सांसद् ज्ञवालीले बताउनुभयाे । 'सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउनु सामान्य कुरा हाेइन, यसलाई सत्ता गठबन्धनमा रहेको असझदारी र विवाद मात्रै हो भनेर बुझ्ने ? अथवा भ्रमणसँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरु छन्, जससँग सत्ता घटकबीच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो भन्ने ?'-उहाँकाे प्रश्न छ ।
नेपाललाई भूराजनीतिक द्वन्द्वकाे थलाे बनाउन नहुने भन्दै उहाँले नेपालकाे परराष्ट्र नीति अनुसार चल्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । सरकारका गतिविधिले नेपाललाई कतै भूराजनीतिक द्वन्द्वकाे थलाे बनाउन त खाेजिदैछैन भन्ने प्रश्न उठेकाे सांसद् ज्ञवालीकाे भनाइ छ । छिमेकी मुलुककाे अहित हुने गतिविधि सरकारबाट हुन नहुने पनि उहाँले बताउनुभयाे ।
देशकाे राष्ट्रिय स्वाधिनताकाे प्रश्नसँग जाेडिएका लगायत विषयमा प्रमुख प्रतिपक्षीसँग छलफल र समझदारी गर्नुपर्नेमा सरकारले प्रमुख प्रतिपक्षीलाई वेवास्ता गरेकाे सांसद् ज्ञवालीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'यस्ता गम्भीर प्रश्नहरुमा प्रमुख प्रतिपक्षलाई जानकारी गराउन वा परामर्श लिन सरकारले छाडेको छ, भ्रमण राजकीय हो कि ? आधिकारिक हो ? कुनै अफिसियल या कुनै विजनेश लाइक हो ? त्यस सम्बन्धमा हामीलाई जानकारी छैन, यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहन्छु ।'
अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षामन्त्रीको हैसियतमा भन्नेबारे पनि स्पष्ट पार्न उहाँले ध्यानाकर्षण गराउनुभयाे । 'यो विषयमा सदन अनुत्तरित रहनु हुँदैन, सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु'-उहाँकाे भनाइ छ ।
