काठमाडौं । गाँजा खेतीकाे विषयले प्रतिनिधि सभामा प्रवेश पाएकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद् शेरबहादुर तामाङले गाँजा खेतीकाे विषय उठाउनु भएकाे हाे । सांसद् तामाङले यसअघि पनि साे विषय सदनमा उठाउँदै आउनुभएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि विनियाेजित बजेटमाथि खर्च कटाैतीकाे प्रस्ताव पेस गर्दै सांसद् तामाङले प्रतिबन्धित गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्न सरकारसँग माग गर्नुभयाे । गाँजाबाट बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एचआइभी एड्सजस्ता प्राणघातक रोगकाे उपचार गर्न गाँजाकाे औषधीय गुणलाई व्यवस्थित गर्न आग्रह गर्नुभयाे । गाँजाकाे औषधीय गुणलाई वैधानिकीकरण गर्न पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
गाँजा खेतीबाट १६ खर्ब ऋण तिर्न सकिने भन्दै सांसद् तामाङले गाँजालाई वैधानिक गर्न सके नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण १-२ वर्षमै तिर्न सकिने दाबी पनि गर्नुभयाे । उ हाँले भन्नुभयाे - '२ सय लिटरका ४ ड्रम सीबीडी नेपालले गाँजा खेती गरेर निकाल्न सक्ने हाे भने,म ग्यारेन्टी गर्छु- त्यसलाई बेचेर मुलुककाे सम्पूर्ण पूर्वाधार निर्माण गर्न सकिन्छ, त्यतिमात्र हाेइन आज हामीसँग भएकाे १५-१६ खर्ब ऋण १-२ वर्षमै तिर्न सक्ने ठाउँमा हामी पुग्छाैं,त्यसैले यसलाई अगाडि बढाउन म अनुराेध गर्न चाहान्छु ।'
सांसद् तामाङले गठबन्धन सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापारकाे विषय बनाएकाे भन्दै आपत्ति जनाउनुभयाे । उहाँले गठबन्धन सरकारले स्वास्थ्यलाई व्यवसाय र स्वास्थ्य बीमालाई व्यापारकाे विषय बनाउन खाेजेकाे बताउनुभयाे ।
स्वास्थ्य बीमा कार्यक्रम निजी कम्पनीलाई दिने विषय कुनै हालतमा मान्य नहुने उहाँकाे चेतावनी छ । स्वास्थ्य बीमा कदापी व्यापार हुन नसक्ने भन्दै उहाँले सरकार याे बाटाेमा अगाडि बढे प्रतिपक्ष चुप लागेर नबस्ने चेतावनी दिनुभयाे । सांसद् तामाङले भन्नुभयाे - 'हामी राम्रैसँग हेरिरहेका छाैं,स्वास्थ्य जस्ताे क्षेत्रलाई फेरि पनि व्यापारकाे विषय बनाएर जनतालाई खर्च बढाउने र वास्तवमा जनतालाई दिउँसै मार्ने ध्यानाकर्षण गराउन चाहान्छु ।'
स्वास्थ्य सम्बन्धी माैलिक हककाे कार्यान्वयन गर्दै नागरिककाे निशुल्क उपचार गर्न बजेट विनियाेजन गर्नुकाे साटाे कुहिराेकाे कागजस्तै हराएकाे तामाङले बताउनुभयाे । यसका लागि उचित बजेट नछुट्याएकाे भन्दै सांसद् तामाङले आपत्ति जनाउनुभयाे । नागरिककाे स्वास्थ्य उपचार नि:शुल्क बनाउनका लागि पनि सांसद् तामाङले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । यसका लागि स्वास्थ्य परिचयपत्र (हेल्थ आइडी) काे व्यवस्था गर्नुपर्ने उहाँकाे सुझाव छ ।
न्मदर्तासँगै हेल्थ आइडी उपलब्ध गराएर त्यसलाई डिजिटलाइजेसन गर्न पनि सांसद् तामाङले माग गर्नुभयाे । डिजिटल सिस्टमबाट बीमा गर्ने विधि अपनाउन पनि सांसद् तामाङले माग गर्नुभयाे । बीमा सिस्टमलाई विकास गर्न सके जतिसुकै खर्च भएपनि व्यक्तिकाे पैसा खर्च नहुने दाबी तामाङले बताउनुभयाे ।
'सक्छ अहिलेकाे सरकारले गराेस्,सक्नुहुन्न भने हामी सक्छाैं,म सक्छु,सिक्नुहुन्छ भने आउनुस् म सिकाउँछु'-तामाङकाे चुनाैती छ । स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिन लागिएकाेमा उहाँले कडा आपत्ति जनाउनुभयाे ।
केपी ओली नेतृत्वकाे सरकारले सबै स्थानीय तहमा अस्पतालकाे अवधारण अगाडि बढाएकाे भन्दै उहाँले अहिलेकाे सरकारले बजेटमा ती कार्यक्रम नसमेटिएकाे बताउनुभयाे । मृत्यु बीमाकाे व्यवस्था गर्न पनि उहाँले माग गर्नुभयाे । बिरामी व्यक्ति बाँचेर आए उसैले ब्यहाेर्ने र कारणबस नबाँचे परिवार र आफ्न्तलाई आर्थिक भार कम हुने उहाँले बताउनुभयाे ।
सरकारले औषधि नभएर औषधिकाे ब्राण्ड बेचिरहेकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'मन्त्रीज्यू तपाईं औषधिकाे ब्राण्ड बेच्नुभएकाे छ, साँच्चै औषधिकाे फर्मुला बेच्नुभएकाे छ ? औषधि कम्पनीकाे ब्राण्ड बेचेर,औषधिकाे मूल्य ताेक्न पाइन्छ ?' नेपालका उत्पादकलाई उत्पादन गर्न दिएमा ८० प्रतिशत सस्ताे हुने दाबी पनि सांसद् तामाङले गर्नुभयाे ।
