काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् शक्तिबहादुर बस्नेतले देशकाे आर्थिक नीति, परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिबारे सरकारकाे प्रष्ट धारणा हुनुपर्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् बस्नेतले यी विषयमा सरकारले स्पष्ट राष्ट्रिय दृष्टिकाेण निर्माण गर्नुपर्ने बताउनुभयाे ।
अब विकास राजनीतितिर ध्यान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'हामी अब सत्ता राजनीतिबाट विकास राजनीतिमा प्रवेश गर्दैछाैं भन्ने कुरा व्यवहारिक अनुभूति हुने ढंगले एक पटक मुलुकलाई आवश्स्त पार्न जरुरी छ, त्यसकाे निम्ति हाम्राे आर्थिक नीति,परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिकाे बारेमा एउटा राष्ट्रिय दृष्टिकाेण निर्माण गर्ने र त्यस सम्बन्धमा स्पष्ट ढंगले नेतृत्वदायी भूमिका निर्माण गर्न थप मेहनत गर्नुपर्ने आवश्यकता मैले महशुस गरेकाे छु ।'
समृद्धिकाे प्रमुख शर्त सुशासन भएकाे भन्दै उहाँले सुशासन प्रवर्द्धन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सवल नेतृत्व आवश्यक भएकाे बस्नेतले बताउनुभयाे । राष्ट्रिय गाैरवका आयाेजनाकाे मापदण्डकाे अनुगमन आवश्यक भएकाे पनि सांसद् बस्नेतले बताउनुभयाे । माैलिक हक कार्यान्वयनका विषय सरकारकाे मुख्य प्राथमिकता एजेण्डा बन्नुपर्ने उहाँकाे सुझाव छ ।
बजेट भाषणका बेला देखिएकाे उत्साह मन्त्रालयगत छलफलमा आइपुग्दा बजेटकाे उत्साह घटेकाे पनि बस्नेतले बताउनुभयाे । उहाँले जोखिमपूर्व सदरमुकामका बारेमा बजेटले ध्यान दिन नसकेको बताउनुभयो । संघीयता कार्यान्वयन,प्रदेश र स्थानीय तहका लागि बजेटले न्याय गर्न नसकेकाे उहाँकाे भनाइ छ ।
आधारभूत स्वास्थ्य सेवासँग स्वास्थ्य बीमालाई जाेड्न नहुने भन्दै उहाँले आधारभूत स्वास्थ्य सेवा माैलिक हक भएकाे र निशुल्क रहने उहाँले बताउनुभयाे । 'आधारभूत स्वास्थ्य सेवाको एरियाभित्र अब बिमालाई आकर्षित गर्न भएन,बीमा विशेषज्ञ सेवाको निम्ति आवश्यक कुरा हो, बीमाको काम पनि स्वास्थ्य बीमा ऐनको भावनाअनुसार यसलाई लागू गरिनुपर्याे'- बस्नेतकाे भनाइ छ । स्वास्थ्य बीमा विशेषज्ञ सेवा भएकाे भन्दै सांसद् बस्नेतले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिनै नहुने बताउनुभयाे ।
