काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद् अनिल कुमार झाले सांसद् पदकाे अवमूल्यन भएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् झाले बजेट निर्माणमा सांसद्हरुलाई भूमिकाबिहीन बनाइएकाे भन्दै आपत्ति जनाउनुभयाे । संसद् सबै सांसद्काे भएकाे भन्दै उहाँले सरकारले सबै सांसद्लाई हेर्नुपर्ने बताउनुभयाे ।
अहिलेकाे व्यवस्था र सरकारले सांसद् पदकाे अवमूल्यन गरेकाे सांसद् झाले बताउनुभयाे । 'म बढो लज्जाका साथ भन्न चाहन्छु, कतिपय मामिलामा आजका हामी सांसद् भन्दा वडाध्यक्षहरुलाई अझ बढी एक्टिभ देख्छु, यो ग्राउण्ड रियालिटी हो, यो कुरालाई सरकारले नोट गर्नुपर्छ, सांसद् र संसद्काे गरिमा रक्षा गर्नु हाम्रै कर्तव्य हो, यो काम संसद्ले गर्न सकेको छैन, यसमा मलाई दुःख लागिरहेको छ'- उहाँले भन्नुभयाे ।
बजेटमा सांसद्हरुलाई वेवास्ता गरिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । 'जुन संसद्ले देशको नीति निर्माणको काम गर्दछ र जनताबाट प्रत्यक्ष निर्वाचित सबैभन्दा ठूलो जिम्मेवारीको पद मानिन्छ ती सांसदहरुको यो बजेट निर्माणमा के भूमिका छ ? कुनै भूमिका छैन, अहिले सरकारमा हालीमुहाली रहेका नेताहरुको क्षेत्रमा बजेट बढी छ, के यो बजेटमाथि मैले भनेको कुरा पनि छ भन्ने सांसदहरुको अवस्था होला ? कुनै पनि त्यस्तो ठाउँ छैन, सम्पूर्ण सांसद् र सिंगो संसद्को स्वामित्व यसमाथि रहनुपर्छ'-झाकाे भनाइ छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय आवश्यक भए काम दिनुपर्ने नत्र खारेज गर्नुपर्ने प्रस्ताव पनि उहाँले राख्नुभयाे । सुरक्षित नागरिक आवास कार्यक्रम बजेटमा कतै नरहेकाे भन्दै उहाँले बजेटले जनतामा निराशा छाएकाे बताउनुभयाे ।
आयुर्वेदिक र प्राकृतिक चिकित्सा शिक्षामा बजेट निक्कै कम छुट्याइएकाे भन्दै सांसद् झाले आपत्ति जनाउनुभयाे । स्वास्थ्य बीमाबारे सरकारले प्रष्ट पार्नुपर्ने पनि उहाँले बताउनुभयाे । सांसद् झाले स्वास्थ्य बीमा गर्ने बिरामीहरु उपचारका लागि जुन स्वास्थ्य संस्था पुग्छन् बीमा कार्यान्वयन सोही संस्थामा हुनुपर्ने बताउनुभयाे ।
