काठमाडाैं । नेपाली कांग्रेसकी सांसद् डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रमबारे प्रष्ट पार्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् संग्रौलाले स्वास्थ्य बीमाबारे सरकारकाे स्पष्ट धारणा आउनुपर्ने बताउनुभयाे । स्वास्थ्य बीमा कार्यक्रम निजी कम्पनीलाई दिने कुरा न्यायाेचित हुन नसक्ने उहाँकाे भनाइ छ ।
नेवालमा करिब २० वटा निजी स्वास्थ्य बीमा कम्पनी तथा ३ सय ५० भन्दा बढी निजी अस्पतालहरू रहेकाे भन्दै उहाँले निजी बीमा कम्पनीहरुले मुनाफामा मात्रै आँखा लगाइ रहेका बताउनुभयाे । 'उनीहरु प्रिमियम तिर्न नसक्ने न्यून आय वर्गको जोखिम उनीहरु ब्यहोर्न चाहँदैनन्, जोखिम राज्यले ब्यहोर्ने, मुनाफा चाहिँ निजी कम्पनीले कमाउने मोडेलमा हामी जानुहुँदैन'- संग्राैलाकाे भनाइ छ ।
स्वास्थ्य सेवा महंगाे भएकाे भन्दै उहाँले यसमा पनि सरकारकाे ध्यान दिनुपर्ने बताउनुभयाे । निजी अस्पतालमा आम नागरिककाे पहुँच नै नभएकाे समेत उहाँले बताउनुभयाे । अस्पतालमा औषधि,उपकरण र जनशक्ति पठाउन पनि सांसद् संग्राैलाले माग गर्नुभयाे ।
२ हजार नर्स पठाउन बेलायत सरकारसँग सम्झाैता गरेकाे समाचार आएकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'यसले नेपाललाई कस्ताे असर पर्छ, नेपालकाे नर्सिङ जनशक्तिलाई राम्राे तलब सुविधा दिएर नेपालमै काम गर्ने वातावरण बनाउन म माग गर्छु ।'
