काठमाडाैं । सांसद् अमरेश कुमार सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निक्कै कमजाेर रहेकाे बताउनुभयाे ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयका लागि विनियाेजित बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् सिंहले नेपालकाे प्रधानमन्त्री कार्यालय दुनियाँकै कमजाेर कार्यालय भएकाे बताउनुभयाे ।
आसेपासे र भाइभतिजालाई सचिवालयमा राखेका कारण प्रधानमन्त्री कार्यालय कमजाेर भएकाे उहाँकाे ठहर छ । लाेकसेवा पास गरेकाहरुलाई सचिवालयमा राख्दा काम राम्राे हुने तर त्यतातर्फ सरकारले ध्यान नदिएकाे सांसद् सिंहले बताउनुभयाे ।
'प्रधानमन्त्रीकाे समय भाेज-भतेर र उद्घाटनमा खेर गएकाे छ, दुनियाँकाे प्रधानमन्त्री भाेज-भतेर ब्रतबन्धमा जाँदैन, हाम्राे देशकाे प्रधानमन्त्रीकाे त कामै छैन, कसैकाे भाेज भएपनि गयाे,कुनै मिडियाकाे उद्घाटनमा गयाे'- उहाँकाे भनाइ छ ।
प्रधानमन्त्री कर्यालयकाे चुस्तदुरुस्त र प्रभावकारी हुन नसकेकाे सिंहकाे भनाइ छ । राजस्व विभाग,राष्ट्रिय अनुसन्धान विभाग,सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालयमा आएपछि के प्रगति भयाे भन्नेबारे प्रतिवेदन सार्वजनिक हुनुपर्ने सिंहले बताउनुभयाे । प्रधानमन्त्री कार्यालय अन्तर्गतकाे सम्पत्ति शुद्धिकरण विभागकाे कामै नरहेकाे सांसद् सिंहले बताउनुभयाे । 'मात्र व्यापारी तर्साउँदै पैसा असुल्दै सत्तामा बस्नेकाे हालीमुहाली गर्ने,याे हाेइन नि सम्पत्ति शुद्धिकरण विभागकाे काम'-सिंहले भन्नुभयाे ।
हरेक वर्ष बजेटमा स्मार्ट सिटीका कुरा आउँने भन्दै सिंहले नेपालमा कुनै स्मार्ट सिटी भए घुम्न जान तयार रहेकाे समेत बताउनुभयाे ।
