काठमाडौं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले काेभिड विरुद्धकाे २४ लाख डाेज खाेप हराएकाे विषयमा जवाफ दिन सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयका लागि विनियाेजित बजेटमाथिकाे छलफलमा भाग लिँदै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका सांसद् अधिकारीले कोभिडविरुद्धको २४ लाख डाेज खोपबारे सदनलाई सत्यतथ्य जानकारी गराउन माग गर्नुभयाे ।
सरकारले कमिशन लिएका कारण खाेप हराएकाे हुन सक्ने बताउँदै उहाँले प्रश्न गर्नुभयाे - '२४ लाख खोप कहाँ गयो ? हामीले याे प्रश्न पटक-पटक उठाइराखेका छौं, समितिमा उठाएका छौं, सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर पनि भनिएको छ, त्यो २४ लाख खोप कम्पनीबाटै कमिशनमा हराएको हो ?'
सरकारले नि:शुल्क औषधिबारे भ्रम फैलाउन खाेजेकाे पनि सांसद् अधिकारीले बताउनुभयाे । आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १ सय ३९ वटा औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएकाे स्मरण गराउँदै उहाँले जनतामा भ्रम नछर्न सरकारलाई चेतावनी दिनुभयाे ।
स्वास्थ्यमा कम बजेट विनियाेजन गरिएकाे भन्दै उहाँले आपत्ति पनि जनाउनुभयाे ।
