काठमाडौं । नेकपा एमालेका सांसद् नारायणप्रसाद खतिवडाले मल ल्याउने बेला गठबन्धन सरकार कानमा तेल हालेर बसेकाले समस्या भएकाे बताउनु भएकाे छ ।
एमालेले प्रतिनिधि सभामा पेस गरेकाे रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिकाे छलफलमा बाेल्दै सांसद् खतिवडाले मल ल्याउने बेला सरकार कानमा तेल हालेर बसेका कारण किसानले दु:ख पाएकाे बताउनुभयाे ।
समयमै रासायनिक मल उपलब्ध गराउन संसद्मा सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेकाे उहाँले बताउनुभयाे । 'हामीले याे भन्दा अगाडि बाली लगाउने बेला भयाे मल चाहियाे भनेर सरकारकाे ध्यानकेन्द्रित गर्न प्रयत्न गर्याैं, तर सरकार कानमा तेल हालेर बस्याे, किसानको बारीको मकै पहेलो भएको छ, चैते धानको उत्पादन घटेको छ, असारको धान लगाउने बेला पनि मल अभाव भएकाे छ, हामीले मलमल भने सदनमा चिच्याएपनि सरकार सुन्नेवाला छैन'- उहाँले भन्नुभयाे ।
समयमै मल नपाएका कारण किसानहरु मर्कामा परेकाे बताउँदै सांसद् खतिवडाले प्रश्न गर्नुभयाे - 'कृषि मन्त्री ज्यू, प्रधानमन्त्री ज्यू किसानले कहिले रायासनिक मल पाउँछ्न् ?' सरकारकै कारण कालोबजारीमा मल किन्न किसान बाध्य भएको भन्दै उहाँले चाँडाे भन्दा चाँडाे किसानलाई मलकाे व्यवस्था गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
सरकार कसरी चलाउनुपर्छ भन्नेहरुले सरकारले चलाएकाे पनि देखिएकाे बताउँदै सांसद् खतिवडाले भन्नुभयाे - 'मेराे निर्वाचन क्षेत्रबाट एक जना आमाले फाेन गरेर भन्नुभयाे - १ बाेरामा ९ सयमा पाइने मल बल्लबल्ल २७ सय तिरेर लुकिलुकी किनेर ल्याएँ भन्नुभयाे,सरकार कसरी चलाउनुपर्छ भन्ने संसद्मा आएर गर्जने साथीहरु ९ सयमा पाइने मललाई २७ सयमा बेच्नुहुँदाेरहेछ,सरकार यसैगरी चलाउनुहुँदाे रहेछ ।'
६० प्रतिशत बढी कृषिमा आधारित भएकाे देशमा मल नपाएर किसानहरु राेइरहेका र छटपटाइरहेका उहाँले बताउनुभयाे । सांसद् खतिवडाले २९ अर्ब मलमा अनुदान छुट्याउँदा त मलकाे अभाव भएकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'याे वर्ष १५ अर्ब मात्र पैसा छुट्याएकाे छ भने अर्काे वर्ष के हालत हाेला ?' मलकाे अभावमा उत्पादन घट्ने निश्चित भएकाे पनि सांसद् खतिवडाले बताउनुभयाे ।
