काठमाडौं । लाेकतान्त्रिक समाजवादी (लाेसपा) का सांसद् उमाशंकर अरगरियाले नेपाललाई कमिशन प्रधान देश घोषणा गर्न प्रस्ताव गर्नुभएकाे छ ।
एमालेले प्रतिनिधि सभामा पेस गरेकाे रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिकाे छलफलमा बाेल्दै सांसद् अरगरियाले भन्नुभयाे - 'कृषि प्रधान देश भनेर पटकपटक भन्दै र सुन्दै आएको छु,पढ्दै आएको छु, आजदेखि यो सदनमा मेरो व्यक्तिगत प्रस्ताव छ- कृषि प्रधान देश होइन, कमिशन प्रधान देश घोषणा गरियोस् ।'
हरेक क्षेत्रमा कमिशनकाे खेल चलेकाे बताउँदै उहाँले भन्नुभयाे - 'किसान छ देशमा मल छैन,विद्यार्थी छ तर पाठ्यपुस्तक छैन, ठेकेदारहरु काम गरेकाे छ तर पेमेन्ट छैन, नागरिक छ तर नागरिकता दिइएकाे छैन, सभामुख हुनुहुन्छ तर उपसभामुख छैन, सरकार छ अभिभावक छैन, अख्तियार छ भ्रष्टाचार न्यून भएकाे छैन'-अरगरियाले भन्नुभयाे ।
कृषिमा ६० प्रतिशत जनसंख्या निर्भर छ भन्ने हटाएर राजनीतिमा ६० प्रतिशत जनसंख्या निर्भर छन् भन्ने राख्नुपर्ने व्यंग्य समेत उहाँले गर्नुभयाे । 'नेपालमा राजनीति सेवाको भावना हटाइयोस् र पेसाको भावना राखियाेस्, कृषिमा ३० प्रतिशत उत्पादन बढाउने होइन, ३० प्रतिशत बढी आयात गर्ने हो भनेर सच्याइयोस्'-अरगरियाकाे भनाइ छ ।
