काठमाडौं । नेकपा एमालेका सांसद डा. सूर्यप्रसाद पाठकले जसरी भएपनि किसानलाई तत्काल मल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
एमालेले प्रतिनिधि सभामा पेस गरेकाे रासायनिक मल उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिकाे छलफलमा बाेल्दै सांसद् पाठकले एकातिर मल नपाउने र पाइहालेपनि महंगाेमा मल किन्नुपर्ने वाध्यताले किसानहरु दाेहाेराे मारमा परेका बताउनुभयाे ।
देशमा तत्कालका लागि ६ लाख मेट्रिक टन मल चाहिने भएपनि सरकारसँग २५ प्रतिशत मात्र रहेकाे बताउँदै सांसद् भन्नुभयाे - 'बाँकी दिनमा ७५ प्रतिशत मलकाे सुविधा कसरी उपलब्ध गराउन सक्छाैं,कृषिमन्त्री ज्यू,यसमा सिरियली जवाफकाे माग गरेँ ।'
मूल्यवृद्धि डरलाग्दाे रुपमा रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'अघिल्लो वर्ष युरियाको प्रतिकेजी मलको मूल्य ५५ र डिएपीको प्रतिकेजी मूल्य ८२ रुपैयाँ थियो, अहिले १ केजी युरियाको मूल्य एक सय ३९ पुगेको छ भने एक केजी डिएपीको मूल्य एक सय ६८ पुगेको छ, एकातिर मल पाइएको छैन भने अर्कातरि मलको मूल्य हेर्नुस् ।'
मलको हाहाकार देखाएर माल कमाउने तरिका खाेजिएकाे त हाेइन भन्ने आशंका जनताले गरिररहेका पाठकले बताउनुभयाे । 'सरकारको अकर्मण्यताका कारण मल ल्याउन २ सय २६ दिन लाग्ने गरेको छ, लको हाहाकार देखाएर कतै माल कमाउने तरिका खोजिएको त होइन भन्ने गम्भीर प्रकारकाे आशंका किसानहरुले गरिरहेका छन्,मन्त्रीज्यू सिरियस बन्नुस्,सरकार सिरियस् बनाेस् ।'
भुटान र अष्ट्रेलियाले पनि मल खरिद गर्ने भन्दै उहाँले नेपालमा जहिले समस्या देखिनुकाे कारण पत्ता लगाउन माग गर्नुभयाे । सरकारले मल दिन नसक्नुका पछाडि कतै चलखेल त भइरहेका छैनन् भन्ने प्रश्न उठेकाे बताउँदै उहाँले भन्नुभयाे - 'सरकारको अकर्मण्यताका कारण मल ल्याउन २ सय २६ दिन लाग्ने गरेको छ । मलको हाहाकार देखाएर कतै माल कमाउने तरिका खोजिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।'
