काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले समयमै मल ल्याउन नसकिएकाे गुनासाे गर्नुभएकाे छ ।
प्रतिनिधि सभाको साेमबार बसेको दोस्रो बैठकमा स्थगन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल ल्याउन नसकिएकाे गुनासाे गर्नुभयाे । अन्तर्राष्ट्रिय बजारमा मल अभाव भएसँगै त्यसकाे प्रभाव नेपालमा परेकाे उहाँकाे भनाइ छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रकृया सुरु गरिएपनि समयमै ल्याउन नसकिएको मन्त्री यादवले बताउनुभयाे । २ लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा नै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव भएकाे भन्दै उहाँले भारतसँग भएको जीटुजी प्रक्रिया पूरा गरेर असार मसान्तभित्र प्रयाप्त मल आउने बताउनुभयाे ।
समयमै मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारवाहीको प्रकृया थालिएकाे समेत उहाँले बताउनुभयाे । 'समयमै आपूर्ति गर्न नसक्ने कम्पनीहरुसँगको ठेक्का रद्द गरी कारबाही प्रक्रिया थालिएको छ, युरिया , डीएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न २ पटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको छ'- उहाँकाे भनाइ छ ।
किसानलाई मल उपलब्ध गराउने विषय सबै दलको साझा विषय भएकाे पनि मन्त्री यादवले बताउनुभयाे । नेपालमा नै मल उत्पादन गर्ने उद्योग स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको जानकारी पनि उहाँले गराउनुभयाे ।
