काठमाडाैं । किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन प्रतिनिधि सभाले सरकारलाई निर्देशन दिएको छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पेस गरेकाे स्थगन प्रस्तावमाथिकाे छलफलमा बाेल्ने सांसद्हरुले तत्काल मल उपलब्ध गराउन माग गरेपछि प्रतिनिधि सभाले त्यस्ताे निर्देशन दिएकाे हाे । एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायत सांसद्ले दर्ता गराउनुभएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि प्रतिनिधि सभाले विशेष प्रस्तावका रूपमा निर्देशन पारित गरेकाे हाे ।
सबै उपाय अपनाएर किसानलाई मल उपलब्ध गराउन सर्वसम्मतिले सरकारलाई निर्देशन दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र अहिले प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत मल उपलब्ध नभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
'रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीकोरुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भिर ध्यानाकर्षण भएको छ । कुल ग्राहास्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ'- सभामुखले भन्नुभयाे ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७८ बमोजिम दर्ता भएकाे अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमा ४८ जना सांसद्ले बाेलेका थिए । सांसद्काे विचार र कृषि मन्त्रीले दिनुभएको जवाफसहित साे विषयमा समान धारणा आएकाे भन्दै सभामुखले विषेश प्रस्ताव सभाको सहमतीको लागि प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्तावमा सभाले सहमति जनाएकाे हाे ।
