काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै नेकपा एमालेका सांसद् सुरेन्द्र पाण्डेले अर्थमन्त्रीकाे राजीनामा माग्नुभएकाे हाे । सदनमा बजेट प्रस्तुत गर्नु अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्ने समाचार सार्वजनिक भएको भन्दै उहाँले अर्थमन्त्री त्यो पदमा बस्न सक्षम नरहेकाे बताउनुभयाे ।
एमाले संसदीय दलको तर्फबाट साेमबार बसेकाे बैठकमा पनि गम्भीर प्रश्न उठाइएपनि अर्थमन्त्रीले सदनमा आएर जवाफ नदिनु आपत्तिजनक रहेकाे सांसद् पाण्डेले बताउनुभयाे । 'एमाले संसदीय दलकाे तर्फबाट सांसद् योगेश भट्टराईले यति गम्भीरताका साथ प्रश्न उठाइसकेपछि अर्थमन्त्रीले संसद्मा आएर कुनै प्रष्ट नपार्नु आपत्तिजनक कुरा हो'-उहाँले भन्नुभयाे ।
सांसद् पाण्डेले बजेट बन्नुभन्दा एकदिन अगाडि अर्थ मन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश नदिइने तर अर्थमन्त्री २-२ जना अनधिकृत मान्छे हुलेर गडबडी गरेकाे समाचार बाहिरिनु आपत्तिजनक रहेकाे बताउनुयाे । 'अर्थमन्त्रीले मध्यरातमा अपरिचित व्यक्तिलाई डाकेर सचिवहरुलाई पनि उनीहरु मातहत राखेर उहाँहरु करका विज्ञ उहाँहरु हुनुहुन्छ, उहाँहरुले भनेअनुसार गर्नु भनेर उहाँले निर्देशन गर्नुभयाे भन्ने सुनियाे, खास कुरा के हाे ?'-पाण्डेकाे प्रश्न छ ।
सामान निर्यात गरेर ८६-८७ अर्ब कमाउने उद्योगहरुलाई टाट पल्टाउन खोजिएको, स्यानिटरी प्याड उत्पादन गर्ने नेपाली नेपालका उद्योगहरुलाई सुकाउन साढे ७ प्रतिशत कर लगाइएकोमा भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'याे कस्ताे किसिमकाे संलग्नता र साँढगाँढमा भएकाे हाे ? यसकाे जानकारी संसद्लाई चाहियाे,यति गम्भीर प्रश्न उठेपछि नैतिक रुपले अर्थमन्त्रीले त्यो पदमा बस्न सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसकाे जवाफ संसद्लाई चाहिन्छ ।'
यति गम्भीर प्रश्नमा प्रधानमन्त्रीकाे पनि ध्यान जानुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'यति गम्भीर प्रश्नमा प्रधानमन्त्री जवादेही हुने किन नहुने ?' करकाे विषय राष्ट्रिय सुरक्षाकाे जस्तै विषय भएकाे बताउँदै पाण्डेले भन्नुभयाे - 'करकाे विषय ज्यादै गाेपनिय हाे, राष्ट्रिय सुरक्षा जस्तै हाे विषय हाे,यस्ता गाेपनियताहरु बाहिर सार्वजनिक गर्ने र गाेपनियताहरुमा साँढगाँढ र मिलेमताे गर्ने कुराहरु गम्भीर अपराध हुन्, मन्त्रीले नैतिक हिसाबमा त्यो पदमा बसिरहन मिल्दैन,पद छाड्नुपर्छ ।'
