काठमाडाैं । नेकपा एमालेकी सांसद् विमला विकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने विषयमा सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले दिएकाे जवाफमा स्पष्टिकरण साेध्ने क्रममा सांसद् विकले साे विषयमा ध्यानाकर्षण गराउनुभएकाे हाे ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रममा केपी ओलीको नाम मात्रै फेर्ने कि अन्य अरु पनि भन्दै सांसद् विकले कृषिमन्त्रीलाई प्रश्न गर्नुभयाे । 'प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई परिमार्जन गर्छौं भन्नुभयो, केपी ओली नेतृत्वको सरकारले सुरु गरेको हुनाले केपी ओलीको नाम मात्रै फेर्ने हो कि अरु के-के फेर्ने हो ? जवाफ चाहियो'-विमलाले भन्नुभयाे ।
किसान पेन्सन कति वर्ष काम गरेपछि पाइन्छ भन्ने प्रश्न पनि सांसद् विकले गर्नुभयाे । 'किसान पेन्सन लोकप्रिय कार्यक्रम ल्याउनुभएको छ, कति वर्ष किसान पेशा गरेकालाई किसान पेन्सन दिने हो ? किसानलाई पेन्सन दिन कति पैसा छुट्याउनु भएको छ ?'-उहाँकाे प्रश्न छ ।
