काठमाडाैं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अमेरिका भ्रमणबारे शंका नगर्न आग्रह गर्नुभएकाे छ ।
परराष्ट्र मन्त्रालयकाे बजेटमाथि सांसद्ले उठाएका प्रश्नकाे मंगलबार प्रतिनिधि सभामा जवाफ दिने क्रममा मन्त्री खड्काले प्रधानमन्त्री देउवा र प्रधानसेनापति प्रभुराम शर्मा कुनै सैन्य सम्झाैताका लागि अमेरिका जान नलागेकाे दाबी गर्नुभयाे ।
अहिलेकाे स्वाभिमानी,राष्ट्रवादी, देशभक्त र नेपालकाे हितमा काम गर्ने सरकार कुनै पनि खालका सैन्य गठबन्धनमा नजाने उहाँकाे दाबी छ । देशका लागि काम गर्ने सरकारले के राम्राे के नराम्राे भनेर विश्लेषण गरेर मात्र काम गर्ने दाबी गर्दै मन्त्री खड्काले सैन्य गठबन्धनका कुरा कल्पना गर्न पनि नसकिने बताउनुभयाे । 'कुनै पनि देशसँग सैन्य गठबन्धन गर्ने अहिले आवश्यकता नै छैन, देशको हितबाहिर परराष्ट्र मन्त्रालय जाँदैन'-मन्त्री खड्काकाे दाबी छ ।
कांग्रेस नेतृत्वको सरकार केपी ओली नेतृत्वको सरकार जत्तिकै स्वाभिमानी, राष्ट्रवादी र देशभक्त रहेको दाबी गर्दै उहाँले भन्नुभयाे - 'कांग्रेस नेतृत्वकाे सरकार यो भन्दा अघिको सरकारलाई देशभक्त हामीले भनेका थियौं, त्यो भन्दा कम यो सरकारका प्रधानमन्त्री मन्त्रीहरू पनि छैनन् ।'
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता स्थायी खालकाे नभएकाे बताउँदै उहाँले भन्नुभयाे - 'सैन्य प्रयोजनका लागि प्रधानमन्त्री अमेरिका जाने कुनै पनि कुरा होइन, सैन्य गठबन्धनमा नेपाल पस्न लागेकाे भन्ने बाहिर आएकाे छ, हाेइन याे ।'
प्रधानमन्त्रीकाे भ्रमणकाे मिति तय हुन बाँकी रहेकाे भन्दै उहाँले त्यसअघि प्रधानसेनापति अमेरिका जाने कार्यक्रम रहेकाे बताउनुभयाे । 'केही समयपछि प्रधानसेनापतिको अमेरिका भ्रमण छ, सिरिया हुँदै अमेरिका जाने कार्यक्रम छ, प्रधानसेनापतिको भ्रमण नियमित हो, अमेरिकी सैनिक कार्यक्रम प्याक्टमा सम्झौता गर्न जाने होइन'-खड्काले भन्नुभयाे ।
अमेरिकी सेनाका कमाण्ड फ्लिनको भ्रमण र भेटघाट नेपाललाई सैन्य गठबन्धनमा लैजाने भन्ने हाे कि भन्ने विषय अफवाह मात्र भएकाे उहाँले दाबी गर्नुभयाे । 'अमेरिकी सेनाका कमाण्डरकाे भेटघाटले सैन्य गठबन्धनमा लाने पो हो कि भन्ने छ, स्टेट पार्टनरसिप अन्तर्गत हिजाे दिनमा एमसीसी आउँदा हामीले इण्डाेप्यासिफिक स्टार्टेजी का कुरा गर्याैं,इण्डाेप्यासिफिक कुनै फर्मल एलायन्स हाेइन, इन्डियन ओसनदेखि प्यासिफिक ओसनसम्म जोड्ने कुरा मात्रै हो'-मन्त्री खड्काले भन्नुभयाे ।
पार्टनरसिप भन्नेबित्तिकै कुनै सम्झौता नभएकाे दाबी गर्दै उहाँले भन्नुभयाे - 'याे मानवीय र प्राकृतिक प्रकोपलाई सम्बाेधन गर्ने क्रममा प्रयाेग गर्ने र सांस्कृतिक क्षमता आदानप्रदान र अभिवृद्धि गर्ने कन्सेप्टबाट आएकाे हाे, पार्टनरसिप भन्नेबित्तिकै कुनै सम्झौता होइन यो, अस्थायी खालकाे कन्सेप्ट हाे,कुनै एउटा मिसनपछि जान्छ याे, यहाँ केही समय बस्छ ।' मानवीय र प्राकृतिक प्रकोपबारे सैनिक सहकार्य गर्ने कुरा एसपीपीमा रहेकाे मन्त्री खड्काकाे दाबी छ ।
उच्चस्तरीयका भ्रमणहरु भइरहने भन्दै उहाँले यस्ता भ्रमणमा आशंका गर्न नहुने दाबी गर्नुभयाे । 'प्रधानमन्त्रीको अमेरिका भ्रमण उच्च स्तरको भ्रमण हाे, यस्ता भ्रमण भइरहन्छन्, चीनका राष्ट्रपति यहाँ आउनुभयो, तत्कालीन प्रधानमन्त्री केपी ओली चीन जानुभयो, राष्ट्रपति चीन जानु भयो, ओली जी भारत जानुभयो, उच्चस्तरीय भ्रमण पनि आफ्नो परराष्ट्र नीति आफ्नो हितलाई प्रवर्द्धन गर्ने माध्यम हो'-उहाँकाे भनाइ छ ।
महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको सम्बन्धमा आवश्यक सबै पहल भइरहेको जानकारी पनि उहाँले दिनुभयो । कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णय नेपाललाई मान्य नहुने भन्दै उहाँले नेपाली भू-भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारतलाई आग्रह गर्नुभयाे ।
परराष्ट्रमन्त्री खड्काले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयाे । आवश्यकता अनुसार कूटनीतिक नियाेगहरु स्थापना गरिने उहाँले बताउनुभयाे ।
