काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् राजेन्द्र लिङदेनले एमसीसी पारित गर्नुकाे प्रभाव देखिँदै गएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बाेल्दै राप्रपा अध्यक्ष समेत रहनुभएका सांसद् लिङ्देनले एमसीसीसँगै अन्य कुरा ताँती लागेर आउँछन् भनेर आफूहरूले भनेको कुरा पुष्टि हुँदै गएको बताउनुभयाे ।
सरकारले बहुमतको आडमा जबरजस्ती एमसीसी अनुमोदन गरेको स्मरण गर्दै उहाँले त्यसपछिको प्रभाव देखिन सुरू गरेकाे बताउनुभयाे । पहिले एमसीसी र अहिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झाैता अगाडि बढाउन खाेजिएकाे भन्दै एसपीपीलाई अगाडि नबढाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
'एमसीसीबाट पैसा आउने मात्र होइन यसले केही किमि ट्रान्समिटर र केही किमि सडक विस्तार मात्र होइन, यसका पछि अरू केही कुरा ताँती लागेर आउँदैछन् भनेर र भनेका थियौँ, त्यसबेला बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो, त्यसका पछाडि धेरै कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा देखिन थालेको छ, याे एसपीपी र अरु केके चिज आउन लागेका छन् विस्तारै देखिँदै जानेछन्, यसप्रकारका गल्ती सरकारले किन बारम्बार दाेहोराइरहन्छ ?'-उहाँकाे प्रश्न छ ।
सरकार जहिले पनि देशलाई संकटमा पार्ने क्रियाकलाप गरेकाे भन्दै उहाँले सरकारकाे केटाकेटी व्यवहारकाे घाेर भ्रत्सर्ना गर्नुभयाे । संलग्न पराराष्ट्र नीतिमा असन्तुलन पैदा हुने गतिविधि तत्काल रोक्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र सरकार गठन गर्न पनि सांसद् लिङ्देनले माग गर्नुभाये ।
