काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले 'कुमारी आमा' निहारिका राजपुत अनशन प्रकरणकाे विषय प्रतिनिधि सभामा उठाएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभामा बैठकमा बाेल्दै एमालेकी सांसद् थममाया थापामगरले निहारिकालाई न्यायदिन सरकारसँग माग गर्नुभयाे । एउटी आमा बच्चालाई दूध चुसाउँदै अनशन बस्ने कुरा लाजमर्दो भएको भन्दै उहाँले निहारिकाकाे न्यायका लागि तत्काल काम थाल्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
'एउटी आमा दूध चुसाउँदै आमरण अनशन बस्नु राज्यका लागि लाजमर्दो हो, सबै निकायमा न्यायका लागि भीख मागिन्, अदालतले समेत न्याय दिन सकेन'-थापाले माग गर्नुभयाे । यसबारे तत्काल छानबिन गर्न उहाँले माग गर्नुभयाे ।
निहारिका दूधे बच्चा लिएर आफ्ना लागि मात्रै नभइ त्यस्ता हजारौं पीडितका लागि लडिरहेको बताउँदै थापाले भन्नुभयाे - ' यस्ता घटना धेरै छन् तर परिवार र समाजको डरले बाहिर आउँदैनन्, भ्रुणहत्या र आत्महत्या गर्ने क्रम डरलाग्दो ढंगले बढेको छ ।'
