काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले विवाह गर्ने उमेर घटाउने तयारी गरिएकाे बताउनुभएकाे छ ।
कानुन मन्त्रालय अन्तर्गत सांसद्ले उठाएका प्रश्नको बुधबार प्रतिनिधि सभा बैठकमा जवाफ दिने क्रमममा मन्त्री शर्माले विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान पुनरावलोकनका लागि मन्त्रालयले अध्ययन थालिसकेकाे जानकारी दिनुभयाे ।
पुष्पा भुसाल लगायत सांसद्ले प्रश्न उठाएछि मन्त्री शर्माले प्रचलित कानुनअनुसार विवाहको उमेर २० बाट घटाएर १८ वर्षमा झार्ने गरी कानुनमा संशोधन गर्न प्रक्रिया अगाडि बढाइसकिएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - '१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्नचाहिँ २० वर्ष कुर्नुपर्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्ने कुरा कुनै पनि स्ट्याण्डरले देखाउँदैन,यसले बरु अपराध बढाउने कुरा भइरहेको छ, त्यसैले यसमा रिभ्यु गर्नुपर्छ र रिभ्युको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको कुरा म अवगत गराउन चाहन्छु ।'
