काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे छ ।
मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसद्ले उठाएका प्रश्नको बुधबार प्रतिनिधि सभामा जवाफ दिने क्रममा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने प्रतिबद्धता जनाउनुभयाे । सर्वाेच्च अदालतले निर्माण कार्य राेक्ने आदेश दिइरहेका बेला मन्त्री आलेले विमानस्थल बन्ने दाबी गर्नुभएकाे हाे ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण भइसकेको र काठमाडौं-मधेश फास्ट ट्र्याक पनि निर्माणको क्रममा रहेकाे बताउनुभयाे । 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य यात्रु चाप, उड्डयन क्षेत्रमा विकसित प्रविधि, आगामी वर्षको यात्रु संख्या प्रक्षेपणलगायत कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प तत्काल खोज्नुपर्ने अवस्था र राज्यले अविलम्ब सम्बोधन गर्नुपर्ने अवस्था छ'-उहाँले भन्नुभयाे ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा सूचीकृत गरेको प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि प्रारम्भिक लागत १ खर्ब २० अर्ब अनुमान गरिएको भन्दै उहाँले आगामी आर्थिक वर्षका लागि ताेकिएकाे बजेट न्यून रहेकाे बताउनुभयाे ।
