काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरू खगराज अधिकारी, डा. सुर्यप्रसाद पाठक, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, प्रेम सुवाल, लक्ष्मी परियार, गोकुलप्रसाद बाँस्कोटा, डिला सङ्ग्रौला पन्त, यशोदा गुरुङ सुवेदी, राजेन्द्रकुमार राई, पूर्णकुमारी सुवेदी, मीना सुब्बा, महेश बस्नेत र गजेन्द्रबहादुर महतले गृहमन्त्रीसमक्ष पुरक प्रश्न राख्नुभएको थियो ।
सांसदहरूले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्नसमेत गर्नुभएको थियो । उहाँहरूका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान जारी रहेको र धेरै मानिस अनुसन्धानको दायरामा रहेको जानकारी दिनुभयो ।
उहाँले उक्त घटनाका सम्बन्धमा ६ सय ३१ जनासँग सोधपुछ भइसेको र कूल एक सय सात जनाको डिएनए परीक्षण गरिसकिएको बताउनुभयो । त्यति गर्दासमेत दोषी पहिचान नभएको गृहमन्त्री खाणले बताउनुभयो ।
यस्ता घटनामा डिएनए परीक्षण नै उपयुक्त हुने भए पनि एक सय सात जनाको परीक्षणमा समेत पत्ता नलागेको तर अनुसन्धान भने जारी रहेको उहाँले जानकारी दिनुभयो ।
–रासस
