काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले विश्वकाे सर्वोच्च शिखर सगरमाथालाई कुनै देशविरुद्ध प्रयोग हुन नदिने बताउनुभएकाे छ ।
गृह मन्त्रालयका लागि विनियाेजित बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफपछि साेधिएकाे स्पष्टिकरणकाे जवाफ दिँदै मन्त्री खाँडले नेपाली भूमि कुनै पनि विदेशी राष्ट्र विरुद्ध प्रयाेग हुन नदिने बताउनुभयाे ।
नेपालको कुनै पनि भूभागमा कुनै पनि विदेशी राष्ट्र विरुद्ध गतिविधि गर्न नपाइनेमा सरकार प्रतिबद्ध रहेकाे उहाँले बताउनुभयाे । 'नेपालको कुनै पनि भूभागमा कुनै पनि विदेशी मुलुकविरुद्ध गतिविधि गर्न नपाइनेमा सरकार प्रतिबद्ध छ, कसैलाई कुनै राष्ट्रविरुद्ध गतिविधि गर्न छुट छैन, त्यस्ता घटना हुन दिइने छैन, दोषीलाई कारवाही हुन्छ'- गृहमन्त्रीकाे भनाइ छ ।
रुसका पर्वतारोही तथा ब्लगर कात्या लिप्काले रुस-युक्रेन युद्धको विरोधमा सगरमाथामा युक्रेनको झण्डा प्रदर्शन तथा रुसी राष्ट्रपति पुटिनविरुद्ध प्लेकार्ड प्रदर्शन गरेकाे विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रश्न उठाएकाे थियाे । एमाले सांसद्हरु प्रदीप ज्ञवाली,गाेकुल बास्काेटा लगायतले प्रश्न उठाउनुभएकाे थियाे ।
अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले ललितपुरको एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्पको भ्रमण गरेकाे विषयमा सांसद्ले उठाएका प्रश्नकाे जवाफ पनि उहाँले दिनुभयाे । 'नेपालको भूमिमा कुनैपनि विदेशी राष्ट्रको विरुद्ध हुने गतिविधि हुन दिँदैनौँ, यो सरकारको निरन्तरताको अभ्यास र दृढता हो'-उहाँकाे दाबी छ ।
