काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बहिस्कार गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माकाे विषयलाई लिएर एमालेले बिहीबार प्रतिनिधि सभा बैठक बहिष्कार गरेकाे हाे । अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले प्रतिनिधि सभा बहिष्कार गरेको हो ।
आजको बैठकमा शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची थियो । बैठकका अरु कार्यसूचीमा भाग लिएकाे एमालेले अर्थमन्त्रीले जवाफ दिने बेलामा बैठक बहिष्कार गरेकाे हाे ।
अर्थमन्त्रीले जवाफ दिने क्रममा एमाले सांसद्ले उभिएर विरोध जनाएका थिए । एमाले सांसद्काे अवरोधको बेवास्ता गर्दै अर्थमन्त्री शर्माले जवाफ दिनुभयाे । अर्थमन्त्रीले बाेलिरहँदा एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षको विरोधलाई बेवास्ता गरिएको भन्दै बैठक बहिष्कारको घोषणा गर्नुभयाे । उहाँले भन्नुभयाे - 'प्रमुख प्रतिपक्षी दल उभिइसकेपछि यो सदन अगाडि बढ्न दिनुहुँदैनथ्यो, अर्थमन्त्रीको जवाफ सुन्नुपर्ने कुनै कारण छैन, यथास्थितिमा हामी यो सदन बहिस्कार गर्छौै ।'
भट्टराईले बोलेलगत्तै एमाले सांसद्हरु बैठकबाट बाहिरिनुभयाे ।
एमालेले बहिस्कार गरेपनि सभामुखले बैठककाे कार्यसूची अगाडि बढाउनुभएकाे छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सामेल गरेकाे भन्दै एमालेले अर्थमन्त्रीकाे राजीनामा मागिरहेकाे छ ।
