काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले प्रधानमन्त्री शेरबहादुर देउवा सदनमा उपस्थित नभएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
रक्षा मन्त्रालयकाे जिम्मेवारी समेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले बिहीबार प्रतिनिधि सभा बैठकमा जवाफ दिन थालेपछि सांसद् सुवालले नियमापत्ति जनाउनुभयाे । त्यसपछि सभामुख अग्निप्रसाद सापकाेटाले सुवाललाई बाेल्न समय दिनुभयाे ।
प्रधानमन्त्री बिरामी भएको भए वा विदेश गएको भए संसद्लाई जानकारी हुनुपर्ने भन्दै सुवालले विना जानकारी संसद्मा उपस्थित हुन नमिल्ने सांसद् सुवालले बताउनुभयाे । 'प्रधानमन्त्रीज्यू सदनमा किन उपस्थित हुन सक्नुभएन ? बिरामी हुनुहुन्छ कि ? विदेश जानुभएकाे छ कि ? कुनै अस्पतालमा भर्ना हुनुभएकाे हाे कि ? आफ्नाे जिम्मेवारीकाे विभागकाे प्रधाननमन्त्रीले जवाफ दिनुपर्छ,बिना जानकारी संसद्मा उपस्थित हुन मिल्दैन'- सुवालले भन्नुभयाे ।
सुवालले यदि प्रधानमन्त्री बिरामी परेर अस्पताल भर्ना भएको भए डाक्टरको प्रेसक्रिप्सन पेस गर्न सुवालले माग गर्नुभयाे । सुवालले नियमापत्ति जनाउँदै बाेलेपछि मात्र सभामुख सापकोटाले कार्यव्यस्ताका कारण आउन नसकेकाे र कार्यभार गृहमन्त्रीलाई ताेकेकाे जानकारी गराउनुभयाे । पहिले पनि यस्तो परम्परा रहेको सभामुखले बताउनुभयाे ।
त्यसपछि प्रधानमन्त्रीको तर्फबाट रक्षा मन्त्रालयमा उठेका प्रश्नकाे जवाफ गृहमन्त्री खाँडले दिनुभएकाे छ । व्यस्त रहनुभएका भनिएका प्रधानमन्त्री देउवा भने भने गैरआवासीय नेपाली संघको कार्यक्रमलाई काठमाडौंमै सम्बोधनका लागि अहिले र्याडिसन होटलमा हुनुहुन्छ ।
