काठमाडाैं । विनियोजन विधेयक २०७९ पारित भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकबाट विनियाेजन विधेयक पारित भएकाे हाे । अर्थमन्त्री जनार्दन शर्माकाे विषयलाई लिएर एमालेले बैठक बहिष्कार गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकाेटाले अर्थमन्त्री शर्मालाई विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयाे ।
त्यसपछि प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियाे । त्यसपछि सभामुखले विधेयक बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे । त्यसअघि बजेटमाथि सांसद्ले विभिन्न मन्त्रालय र विभाग शीर्षकका खर्च कटौतीको माग गर्दै दर्ता भएका २३ प्रस्ताव अस्वीकृत भएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्बाहाङ्फे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, जुलीकुमारी महतो, आशाकुमारी विक, नरबहादुर धामी, भानुभक्त ढकाल, वसन्तकुमार नेम्वाङ, पद्माकुमारी अर्याल, विमला विक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्यप्रसाद पाठक, भीमबहादुर रावल, नवराज सिलवाल, दीपकप्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले खर्च कटौतीका प्रस्ताव दर्ता गराउनुभएकाे थियाे । आफूले दर्ता गराएको प्रस्ताव फिर्ता लिन समय दिँदा उहाँहरुले फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
उहाँहरू सबैका प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएकाे थियाे । साे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी एमालेले अर्थमन्त्री शर्मा पदमा बस्न योग्य नभएको भन्दै बैठक बहिस्कार गरेको थियो । यसअघि आजै बैठककाे सुरुमै पनि अर्थमन्त्रीकाे जवाफ एमालेले बहिष्कार गरेकाे थियाे ।
