काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेकाे छ ।
अर्थमन्त्री जनार्दन शर्माकाे राजीनामाकाे माग गर्दै एमालेले शुक्रबार राष्ट्रिय सभा बैठक अवरुद्ध गरेकाे हाे । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्रीलाई समय दिनासाथ एमाले सांसद् उठेर विराेध गरेका हुन् ।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बाेल्न समय दिनुभयाे । भट्टराईले अनधिकृत व्यक्तिलाई सामेल गरेर करका दायर हेरफेर गरिएकाे विषयमा अर्थमन्त्री जाेडिनु गम्भीर विषय भएकाे बताउनुभयाे ।
अर्थमन्त्रीले नैतिकताका आधार राजीनामा दिनुपर्ने भन्दै उहाँले प्रतिनिधि सभामा पनि एमालेले संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गरेका बेला राष्ट्रिय सभामा पनि अर्थमन्त्रीलाई स्वीकार्न नसकिने बताउनुभयाे । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गर्नुभएकाे छ ।
