काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) सम्झाैताबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा बाेल्दै एकीकृत समाजवादीका अध्यक्ष समेत रहनुभएका सांसद् नेपालले एसपीपीबारे नेपाली सेनाले पठाएकाे भनिएकाे पत्र पनि सार्वजनिक भएकाले यसबारे सत्यतथ्य बाहिर आउनुपर्ने बताउनुभयाे ।
'एसपीपीले धेरै आशंका पैदा गरेकाे छ,के हाे सत्यतथ्य भन्ने बुझ्न सकिएन,मैले पनि बुझ्न सकिनँ, मेराे हातमा पत्र छ ०७२ कात्तिक १० गते लेखिएकाे,कसकाे पालामा के भयाे सबै कुरा हामीले थाहा पाउनुपर्छ,यथार्थ कुरा के हाे ? त्याे बुझ्न पाउनुपर्छ'-माधवकाे भनाइ छ ।
सरकार असंलग्न परराष्ट्रनीतिमा अडिग रहनुपर्ने भन्दै उहाँले सरकार परराष्ट्र नीतिमा अडिग रहनुपर्ने बताउनुभयाे । नेपाल प्रश्न गर्नुभयाे - 'नेपाल असंलग्न परराष्ट्र नीतिमा अविचलित रुपमा अगाडि बढ्न तयार छ की छैन ? अहिलेकाे सरकार दृढतासाथ अघि बढ्न तयार छ कि छैन ? किनकी कतिपय गतिविधिले प्रश्न गर्ने ठाउँ दिएकाे छ,आशंका गर्ने ठाउँ दिएकाे छ ।'
देशकाे हितबारे बाेल्दा र कदम चाल्ने बेलामा कुनै पनि हिसाबले खुट्टा कमाउन नहुने अध्यक्ष नेपालले बताउनुभयाे । प्रधानमन्त्री शेरबहादुर देउवाकाे आशन्न अमेरिका भ्रमणमा साे सम्झाैता गराउने प्रयास हुन सक्ने भन्दै उहाँले सचेत हुनुपर्ने पनि बताउनुभयाे । 'अमेरिकन सरकारले प्रधानमन्त्रीलाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा छ, मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला, भन्न चाहान्छु ।'
आफूसँगकाे भेटमा प्रधानमन्त्री देउवाले एसपीपीमा हस्ताक्षर नगर्ने बताउनुभएकाे पनि नेपालले सुनाउनुभयाे । 'मलाई प्रधानमन्त्रीले नेपालको हितविपरित सम्झौता हुन सक्दैन भन्नुभएको छ, कहिलेकाहीँ दबाबले हुँदैन, मिठो पाराले फसाइन्छ, निदाएको बेलामा, ह्विस्की खुवाएर, फकाउने गरिन्छ, ख्याल गर्नुहोला'- देउवालाई माधवकाे सुझाव छ ।
एसपीपी सम्झाैतामा आफूहरुकाे असहमति रहेकाे पनि अध्यक्ष नेपालले बताउनुभयाे । नेपाल र नेपालीले कुनै पनि देशकाे दबाब स्वीकार्न नसक्ने उहाँकाे भनाइ छ ।
