काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि वाध्यात्मक कदम भएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धिबारे जानकारी दिँदै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मूल्य बढेका कारण नेपालमा पनि भाउ बढाइएकाे जानकारी दिनुभयाे । प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेकाले नेपालमा पनि मूल्यवृद्धि गर्नुपरेको उहाँकाे भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने घट्दा घट्ने प्रक्रिया २०७१ सालदेखि नै रहेकाे पनि मन्त्री बडूले दाबी गर्नुभयाे । युक्रेन र रुसबीच द्वन्द्वले अन्तराष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाल आयल निगमले घटाउन नसक्ने पनि उहाँले बताउनुभयाे ।
पेट्राेलियम पदार्थकाे भाउ नघट्ने संकेत गर्दै मन्त्री बडूले कसैलाई नाफा हुने नियतले नभइ कानुन र नीतिगत रुपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको दाबी गर्नुभयाे । निगमलाई जेठ समान्तसम्म करिब ५० अर्ब रुपैयाँ घाटा हुन गएको र इण्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने २२ अर्ब बक्यौता रहेको जानकारी पनि उहाँले दिनुभयो ।
निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलिम पदार्थको बिक्री सम्बन्धी विद्यमान नियमावली अनुरुप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पार्नुभयो । यसअघि नै पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर बापतको छुट दिइसकेका र तत्काल मूल्य घटाउन नसकिने पनि मन्त्री बडूले बताउनुभयाे । सरकारी निकायमा २० प्रतिशत खपत घटाउन तयारी भएको जानकारी उहाँले गराउनुभयाे ।
मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको बताउनुभयो ।
