काठमाडाैं । नेकपा एमालेका सांसद् शेरबहादुर तामाङले गाँजा खेतीसम्बन्धी विधेयक तत्काल अगाडि बढाउन सरकारसँग माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभयाे । विधेयक दर्ता भएको ८ सय ९६ दिन बितिसक्दा पनि विधेयक अगाडि नबढाइनु दु:खद भएकाे उहाँकाे भनाइ छ ।
विधेयक दर्ता भएकाे ४ दिनभित्र सबै विधेयककाे कपी सांसद्लाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै उहाँले तत्काल त्याे कपी सांसद्लाई दिएर छलफल थाल्नुपर्ने बताउनुभयाे । ०७६ फागुन १० गते सांसद् तामाङले नै त्याे विधेयक सदनमा दर्ता गर्नुभएको थियो ।
गाँजाकाे औषधिजन्य गुण प्रमाणित भइसकेको भन्दै उहाँले एचआईभी, क्यान्सरलगायत धेरै रोगको उपचारमा गाँजा प्रयाेग हुने गरेकाे बताउनुभयाे । गाँजा खेतीलाई वैधानिकता दिन पनि सांसद् तामाङले सरकारसँग माग गर्नुभयाे । गाँजालाई औषधिय गुण भएकाे वनस्पति भनेर संयुक्त राष्ट्र संघले समेत सूचीमा राखेकाे उहाँकाे भनाइ छ ।
शून्य समय र विशेष समयसँगै संसदीय समितिमा सांसद्ले उठाएका विषय कार्यान्वयन गर्न पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । देशकाे समृद्धिकाे एउटा प्रस्थान विन्दुर गाँजा खेती बन्न सक्ने उहाँले बताउनुभयाे ।
