काठमाडाैं । सांसद् लिलादेवी सिटाैलाले नेपालकाे न्यायालय अवस्थाबारे जनताले थाहा पाइसकेका बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् सिटाैलाले सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घूस लेनदेनको बिषय सार्वजनिक भएसँगै नेपालको न्यायालय कस्तो छ भन्ने कुरा पुष्टि भएकाे बताउनुभयाे ।
'नेपाल बार एशाेसिएशनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियाे अहिले बाहिर आएकाे छ, नेपालकाे न्यायालय कस्ताे छ भन्ने कुरा प्रष्टै जनताले आफ्नै आँखाले देख्नेगरी बाहिर निस्कियाे,दु:खका साथ भन्नुपर्छ राज्यकाेषबाट तलब बुझ्नेहरु सेटिङमा रातदिन पैसा कमाउन लागेका छन्'-उहाँले भन्नुभयाे ।
साे घटनाले मुलुकको न्यायालयको अवस्था छर्लंग पारेको समेत सांसद् सिटाैलाले बताउनुभयो । राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको उहाँकाे भनाइ छ । आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक संगठनमा बस्नेहरू घूसबाट पैसा कमाउनतिर व्यस्त भएकाे सांसद् सिटाैलाले बताउनुभयाे ।
देश टाट पल्टिएका बेला अदालतले घूस खाने, मन्त्रीले घूस खाने जस्ता विकृति फैलिरहेकाे भन्दै उहाँले देश डुबेका बेला अमुक व्यक्तिहरु सेटिङमा पैसा कमाउनतिर व्यस्त रहेका बताउनुभयाे । 'अदालत सेटिङमा घूस खान्छ, हिजो सुनियो मन्त्रीहरुले पनि सेटिङ गरेर घुस खाएको, अब कर्मचारीतन्त्र त्यस्तै सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, घर बनाउने, गाडी जोड्ने, जनता हेरिरहेका छन्, मैले जनताको आवाज बोलेको हो'- सांसद् सिटाैलाकाे भनाइ छ ।
यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभइ सिंगाे आवाज बन्नुपर्ने उहाँकाे सुझाव छ ।
