काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन (२०७७ साउन - २०७८ असार)' पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ । प्रधानमन्त्रीले नै 'लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
वन तथा वातावरण मन्त्री श्री रामसहाय प्रसाद यादवले 'ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट (Global Green Growth Institute) को सहभागितामूलक सदस्य (Participating Member) का रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
