काठमाडाैं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले त्रिचन्द्र लगायत कलेजकाे नयाँ भवन बनाउने काम यसै आर्थिक वर्षदेखि थालिने बताउनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा आफ्नाे मन्त्रालयमाथिकाे बजेटमा उठेका प्रश्नकाे जवाफ दिँदै मन्त्री पाैडेलले भारतीय एक्जिम बैंकसँगकाे ठेक्कापट्टा प्रणालीमा जटिलता भएका कारण ठूला कलेज बनाउने काम प्रभावित भएकाे बताउनुभयाे ।
नेपाल सरकारकै बजेटबाट बनाउने गरी यसै आर्थिक वर्षबाट त्रिचन्द्रकाे नयाँ भवन बनाइने दाबी पनि उहाँले गर्नुभयाे । 'त्रिचन्द्र कलेज लगायत देशका ठूला कलेज बन्ने कुरा एक्जिम बैंकसँगकाे ठेक्कापट्टा प्रणालीमा अलि जटिलता भएकाले अल्झिएकाे ,त्यसमा हामी निरन्तर फलाे गरिरहेका छन्, त्रिचन्द्र क्याम्पस जस्ता क्याम्पसहरु यसै आर्थिक वर्षमा नेपाल सरकारकाे बजेटबाट बनाउनेगरी प्रक्रिया बनाउने अघि बढाइनेछ'-मन्त्री पाैडेलकाे दाबी छ ।
शैक्षिक गुणस्तरलाई मुख्य प्राथमिकता दिइएकाे भन्दै उहँले हामी बनाउँछाैं हाम्रा विद्यालय अभियान चलाइने जानकारी दिनुभयाे । सातै प्रदेशमा मेडिकल कलेज खाेल्ने प्रक्रिया अगाडि बढिरहेकाे मन्त्री पाैडेलले बताउनुभयाे ।
चुनावका कारण पाठ्यपुस्त छपाइमा ढिलाइ भएकाे दाबी उहाँले गर्नुभयाे ।
