काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले 'नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियाेस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे । तर नेकपा एमालेका सांसद् झपटबहादुर रावलले गणपुरक संख्या नभएकाे भन्दै नियामापत्ति जनाउनुभयाे ।
सभामुख सापकाेटाले पास भएकाे छैन भन्दै रावललाई बस्न अनुराेध गर्नुभयाे । तर रावल बस्नुभएन । त्यसपछि मात्र सभामुखले रावललाई माइक दिनुभयाे । रावलले साे विधेयक निर्णयार्थ पेस गर्नु पहिले गणना गर्न माग गर्नुभयाे । 'यहाँ काेरम पुगेकाे छैन, जुन निर्णयार्थ पेस गरिँदैछ याे संसदीय नियमावली विपरित छ, त्यसैले निर्णयार्थ पेस गर्नुअघि गणना गरियाेस्'- रावलले भन्नुभयाे ।
तीन मिनेटको घन्टी बजाएर गणना गर्दा पनि ६३ जना मात्र सांसद् उपस्थित थिए । कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्दा गणपुरक संख्या ६९ हुनुपर्छ । तर त्याे संख्या नपुगेकाे भन्दै सभामुख सापकाेटाले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएकाे छ ।
