काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद् योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् भट्टराईले शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि देशभरका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयाे । समयमै पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरुले कक्षा छाड्ने क्रम बढेकाे उहाँकाे भनाइ छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री याेगेश भट्टराईले १५ दिनमै पाठ्यपुस्तक पुर्याउने प्रतिबद्धता जनाएपनि त्याे पूरा हुन नसकेकाे सांसद् भट्टराईले बताउनुभयाे । अहिलेसम्म करिब २५ देखि ३० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगेपनि ७० प्रतिशत विद्यालयमा नपुगेको भन्दै उहाँले तत्काल पाठ्यपुस्तक पुर्याउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
कक्षा १ देखि ३ सम्म निजी क्षेत्रलाई किताब छपाइ र वितरण गर्न दिँदा समयमै पुगे पनि ४ कक्षादेखि माथि जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक पुर्याउन नसकेको उहाँले बताउनुभयाे । पाठ्यपुस्तक समयमै पुर्याउन सरकारलाई निर्देशन दिन समेत सांसद् भट्टराईले सभामुख अग्निप्रसाद सापकाेटाकाेटाकाे ध्यानाकर्षण गराउनुभयाे ।
काठमाडौं उपत्यकाभित्रका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न नसकेको भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'अहिले पनि कतिपय स्कुलमा ५० प्रतिशतभन्दा धेरै पाठ्यपुस्तक पुगेका छैनन्, काठमाडौंकै स्कुलमा ३० प्रतिशत पाठ्यपुस्तक पुगेको छैनन्, ढुवानीको निम्ति सहज हुने स्थिति रहेको वाग्मती प्रदेशमा समेत करिब ४० प्रतिशत पाठ्यपुस्तक नपुगेको अवस्था छ भने कर्णालीको अवस्था के होला ?'
प्रथम त्रैमासिक परीक्षा नजिकिरहेका बेला के आधारमा विद्यार्थीले परीक्षा दिने भनेर सांसद् भट्टराईले प्रश्न गर्नुभयाे । 'समयमा पाठ्यपुस्तक नपुग्दा अधिकांश विद्यालयमा पढाइ भएको छैन, पुस्तक नहुँदा शिक्षकले के आधारमा पढाइरहेका छन् ? पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले बंक गरिरहेका छन्, यस्तो समस्या ८० लाख विद्यार्थीले भोग्नुपरेको छ, अब चाँडै विद्यालयमा प्रथम त्रैमासिक परीक्षा हुँदैछ, परीक्षा के आधारमा हुन्छ र प्रश्नपत्र कसरी बनाइन्छ ? के आधारमा मूल्यांकन गरिन्छ ?'-भट्टराईकाे प्रश्न छ ।'
