काठमाडाैं । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको बन्ध्याकरण गरेको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् बास्काेटाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई टी-२० लिग आयाेजना गर्न दिएर नेपाल क्रिकेट संघ (क्यान) ले ८ वर्षका लागि नेपाली क्रिकेटकाे बन्ध्याकरण गरेकाे बताउनुभयाे । विश्व वरीयतामा अलिकति माथि रहेकाे नेपालकाे क्रिकेटलाई नियन्त्रण गर्ने क्यानकाे कदम आपत्तिजनक रहेकाे उहाँले बताउनुभयाे ।
'१४ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त देशमध्ये नेपाल पनि पर्छ, तर याे सरकारले खेल मन्त्रालयले नेपालको सम्पूर्ण खेल क्षेत्रलाई भारतको सेभेन थ्री स्पोर्ट्स प्रालि कम्पनीकाे हातमा सुम्पियो र क्रिकेट खेलको बन्ध्याकरण गर्याे, त्यो पनि आठ वर्षका लागि, सबैलाई थाहा छ - खेलाडीहरू लिगहरूमा हायर हुन सक्छन्, तर यहाँ सम्पूर्ण खेल क्षेत्रमाथिको नियन्त्रण एउटा भारतीय कम्पनीलाई दिइएको छ'- बास्काेटाले भन्नुभयाे ।
सार्वजनिक खरिद ऐन मिचेर बिना प्रतिष्पर्धा प्राइभेट कम्पनीलाई लिग आयाेजना गर्ने दिने काम खेदजन्य भएकाे भन्दै सांसद् बास्काेटाले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'क्यानलाई नेपाल सरकारले अनुदान दिन्छ, एउटा प्राइभेट कम्पनी जसलाई ८ वर्षका लागि क्रिकेटकाे सम्पूर्ण क्षेत्र दिइएकाे छ, त्याे पनि सार्वजनिक खरिद एेन मिचेर बिना प्रतिष्पर्धा दिइएकाे छ, जुन खेदजन्य र गम्भीर आपत्तिजनक छ, सम्झाैता अनुसार भारतीय कानुन लाग्नेछ,सम्झाैताकाे २१ नम्बर बुँदामा साे कुरा प्रष्टसँग उल्लेख गरिएको छ ।'
साेही सम्झाैताकाे ४.२.२ मा पनि सांसद् बास्काेटाले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे -'हाम्रा खेलाडी र खेल क्षेत्रको सम्पूर्ण ‘इन्टेलेक्च्युल प्रपर्टी राइट’ पनि ४.२.२ मा त्यही कम्पनीलाई दिइएको छ, यो कसरी हुन पुग्याे ? याे खारेज हुनुपर्छ, खेलकुद मन्त्रालयले यसलाई खारेज गर्नुपर्छ ।'
साे सम्झौता लागु भए नेपालमा यसअघि हुँदै आएको एभरेष्ट प्रिमियर लिग (इपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) ले कुनै काम गर्न नसक्ने बास्काेटाले बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'यस्तो अवस्थामा खेल क्षेत्रलाई लौजाने हो भने खेलकुद मन्त्रालयको के काम छ ? खेलकुद मन्त्रीको के काम छ ? क्यानको के काम छ ? सरकारले क्यानलाई पैसा दिनुको के काम छ ?'
खेल क्षेत्र राष्ट्रिय एकताको, संस्कृतिको, राष्ट्रिय आत्मविश्वासको र देशको आर्थिक क्षमताको, अन्तर्राष्ट्रिय जगतमा परिचय दिने, परीक्षण गर्ने र देशको गौरव माथि उठाउने संस्था भएको भन्दै बास्काेटाले क्यानले गरेकाे सम्झाैता रद्ध हुनुपर्ने बताउनुभयाे ।
सन् २०१० को विश्वकप जितेपछि स्पेन एकताबद्ध भएको, चीन र अमेरिकाबीचको सम्बन्ध खत्तम भएका बेला टेबलटेनिसका खेलाडीहरूले ‘पिङपङ डेप्लोमेसी पोलिसी’ विकास गरेको प्रसंग सुनाउँदै उहाँले नेपालकाे आन्तरिक खेललाई बन्दक बनाउने काम नगर्न चेतावनी दिनुभयाे ।
परमादेशी सरकार हुँदैमा जे पनि गर्न छुट नहुने भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'हाम्रो सम्पूर्ण आन्तरिक खेलहरूलाई बन्धक बनाउने र विदेशको एउटा कम्पनीलाई सम्पूर्ण कानुनी अधिकार र ‘प्रपर्टी राइट’ दिने कुरा अत्यन्तै घातक छ, व्यापक आर्थिक अनियमितता भएका छन्,३ कराेड ३० लाखमा बिना प्रतिष्पर्धा दिइएकाे छ, सरकारलाई कानुन लाग्दैन ? सरकारले कानुन मिच्न पाउँछ ? परामादेशी भएपछि कि कानुन पनि च्यातेको हो ? विधिको शासन खाेइ ? सुशासन खाेइ ?'-गाेकुलकाे प्रश्न छ ।
क्यानको चतुरबहादुर चन्दले यसरी चतुर्याई गरेर देशको क्रिकेट क्षेत्रलाई खत्तम पार्ने काम गरेकाे भन्दै सांसद् बास्काेटाले आपत्ति जनाउनुभयाे । क्यानले भारतीय कम्पनीसँग गरेको सम्झौता राष्ट्रघाती रहेको भन्दै उहाँले सम्झौता फिर्ता गर्न माग गर्नुभयाे । सांसद् बास्काेटाले भन्नुभयाे - 'यसरी खेल क्षेत्रलाई बर्बाद बनाउने कुरा हुन सक्दैन, सरकारले याे फिर्ता लिनुपर्छ, यो सम्झाैता च्यातिनुपर्छ, पूनर्विचार गरिनुपर्छ, गर्ने भए नयाँ सम्झाैता गर्नुपर्छ, यसरी राष्ट्रिय आत्मविश्वास गुमाउन सकिँदैन,इण्डियन ल नेपालमा लागू हुने ? नेपालकाे कानुन खाेइ ?'
