काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिने बताउनुभएकाे छ ।
अर्थ मन्त्रालयकाे बजेटमाथि सांसद्ले उठाएका प्रश्नकाे साेमबार राष्ट्रिय सभा बैठकमा जवाफ दिँदै मन्त्री शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर आफूले राजीनामा नदिने बताउनुभयाे । बजेटले राखेका उद्देश्य स्पष्ट भएका मन्त्री शर्माले दाबी गर्नुभयाे ।
देश र जनताका पक्षमा बजेट ल्याएका कारणले कसैलाई अनैतिक लागेकाे हुन सक्ने उहाँले दाबी गर्नुभयाे । मन्त्री शर्माले भन्नुभयाे - 'बजेट जनताकाे पक्षमा ल्याएकाे कारणले,देशकाे पक्षमा ल्याएकाे कारणले, कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने कुरा हाेइन,इतिहासले सही र गलत पुष्टि गर्नेछ, अहिले गरेका निर्णयमा म पूर्णरुपमा जवाफदेही छु ।'
करको दर घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उहाँले यसको विरोध गर्नुको औचित्य नभएकाे बताउनुभयाे । 'अर्थमन्त्रीले बजेट नल्याएर,करकाे दरलाई थपघट नगरेर अरु के गर्नुपर्थ्याे ? याे नेपाल सरकार कार्यविभाजन नियमावलीले दिएकाे कुरा हाे'- मन्त्री शर्माले भन्नुभयाे ।
अर्थमन्त्रीकाे वर्गीय दृष्टिकाेण नै विचलन भएकाे भनिएकाे भन्दै उहाँले आफूलाई त्यसाे भन्ने सांसद्लाई धन्यवाद दिनुभयाे । देशप्रतिकाे दृष्टिकाेण नबिग्रिएकाे, देशकाे आवश्यकतालाई सम्बाेधन गर्ने दृष्टिकाेण नबिग्रिएकाे पनि उहाँले बताउनुभयाे । आर्थिक स्थायित्व कायम गर्ने, समाजवादमूलक अर्थतन्त्रकाे विकास गर्ने लगायत उद्देश्य पूरा गर्नका लागि त्यस्तै खालका कार्यक्रम राखिएका मन्त्री शर्माले बताउनुभयाे । 'कृषिमा आत्मनिर्भरताकाे कुरा यहाँ ल्याएकाे छ याे कुरा कसरी अनैतिक हुन्छ हाेला ? आयात घटाउने कुरा कसरी अनैतिक हुन्छ हाेला ?'-उहाँकाे प्रश्न छ ।
