काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गर्नुभएकाे छ ।
अजरबैजानको राजधानी बाकुमा हुने कार्यक्रममा भाग लिन सभामुख सापकोटा नेतृत्वको टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । साे टाेलीमा सांसद् पुष्पा भुसाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक पनि हुनुहुन्छ ।
सभामुखसहितकाे टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसद्का महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गर्नुभएकाे थियाे ।
साे कार्यक्रममा सभामुख सापकाेटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
अजरबैजानको संसद्ले आयोजना गरेको सम्मेलन असार १६ गतेदेखि १८ गतेसम्म चल्नेछ । नेपाली टाेली असार १९ मा नेपाल फर्कने कार्यक्रम छ ।
