काठमाडाैं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ल्याएकाे बजेट पारित भएकाे छ ।
बिहीबार बसेकाे प्रदेश सभा बैठकबाट सरकारकाे बजेट बहुमतले पारित भएकाे हाे । प्रदेश सभा सदस्यहरुले मन्त्रालयको विषयगत शीर्षकमाथि उठाएका प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबारकाे बैठकमा जवाफ दिनुभएकाे थियाे ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले असार १ गते ७० अर्ब ९३ करोड ९२ लाखको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएकाे थियाे ।
बजेट पारित भएसँगै वाग्मतीमा सरकार फेरबदलको कसरत सुरु भएकाे छ । एकीकृत समाजवादीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिएकाे भन्दै गठबन्धन भित्रका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर अभियान थालेका छन् ।
पूर्व सहमति अनुसार सरकारको नेतृत्व पाउनुपर्ने अडानमा नेपाली कांग्रेस छ । साेही अनुसार हस्ताक्षर अभियान नै चलाएको छ । कांग्रेसलाई माओवादी केन्द्रले साथ दिएकाे छ ।
