काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका विनियोजन विधेयक, २०७९, आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
राष्ट्रिय सभामा उत्पत्ति भएका औषधी (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ र रेलवे विधेयक, २०७९ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-२०७८' पेस गर्नुहुनेछ संसद् सचिवालयले जनाएकाे छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति श्री कृष्णभक्त पोख्रेलले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुनेछ ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयाेस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवन्द्र पाैडेलले 'शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । उहाँले नै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
वन तथा वातावरण मन्त्री श्री रामसहाय प्रसाद यादवले 'ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट (Global Green Growth Institute) को सहभागितामूलक सदस्य (Participating Member) का रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
मन्त्री यादवले नै 'ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट (Global Green Growth Institute) को सहभागितामूलक सदस्य (Participating Member) का रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
आज राष्ट्रिय सभा बैठक पनि आज दिउँसाे १ बजे नै बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले 'काेभिड-१९ व्यवस्थापन विधेयक,२०७८ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयाेस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
