काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे सत्यतथ्य बाहिर ल्याउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
प्रतिनिधि सभाकाे साेमबारकाे बैठककाे सुरुमै बाेल्दै एमाले अध्यक्ष ओलीले एसपीपी सम्झाैताका लागि कसकाे पालामा कसरी अगाडि बढ्याे भन्नेबारे सदनमार्फत सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे । जनतालाई गुमराहमा राख्ने र भ्रममा राख्ने काम नगर्न उहाँले सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयाे -'यस्ताे पत्राचार भयाे भनिएकाे छ,पत्राचार भएकाे हाे कि भएन ? भएकाे भए नेपाल सरकारकाे कुन तहकाे कुन मितिकाे के विषयकाे निर्णयकाे आधारमा,कुनकुन प्रधानमन्त्री र रक्षामन्त्री कसकसले निर्णय गरेर याे भएकाे छ,यस सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउनुपर्छ, कुनै पनि भ्रमपूर्ण प्रचारबाजी गरेर हिँड्ने हाेइन,सत्यतथ्य बाहिर ल्याउनुपर्छ, याे काम सम्माननीय प्रधानमन्त्री ज्यूले गर्नुपर्छ ।'
एसपीपी कसकाे पालामा कसरी अगाडि बढेकाे भन्ने कुराकाे जानकारी जनताले पाउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । देशकाे राष्ट्रियतासँग जाेडिएकाे विषय एकअर्काका टाउकामा फालाफाल गर्ने विषय नभएर राष्ट्रिय विषय भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'याे एक अर्काका ठाउँकामा फालाफाल गर्ने खालकाे स्थितिकाे मजाकपूर्ण व्यवहार हाेइन,म्युजिकल चेयर जस्ताे ख्यालठट्टाकाे विषय हाे र ? कसकाे समयमा कसले निर्णय गर्याे, कसले अगाडि बढायाे, कसकाे बीचमा सहमति भइराखेकाे छ ?भित्रभित्र के भइाखेकाे छ,यस्ता विषय भित्रभित्र हुन सक्देनन्, यस्ता विषय कुनै व्यक्ति, पार्टी र गठबन्धन विशेषका विषय हाेइनन्, राष्ट्रिय विषय हुन् ।'
एसपीपीका सम्बन्धमा तत्कालीन प्रधानसेनापतिले पठाएको पत्रका बारेमा आफू नेतृत्वको सरकारलाई कुनै जानकारी नगराएको अध्यक्ष ओलीले प्रष्ट पार्नुभयाे । सरकारी कागजपत्रमा चलानी नम्बर हेरफेर गर्ने,चलानी नम्बर हातले लेख्ने, मिति लेख्ने नहुने उहाँले प्रष्ट पार्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'म प्रधानमन्त्री भइसकेपछि भनेर पठाइएकाे अहिले जुन विषय उछालिएकाे छ,त्यसकाे सत्यतथ्य बाहिर आउनुपर्छ, नेपाली सेनाले प्रचलन हाे भनेकाे छ यस्ताे पनि प्रचलन हुन्छ र ? प्रधानमन्त्री र रक्षामन्त्रीलाई नबताउने प्रचलन हुन्छ र ? तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले तत्सम्बन्धमा कुनै पनि निर्णय गरेकाे छ,निर्दशन दिएकाे छ,त्याे जानकारीमा आएकाे कुनैपनि प्रमाण र सबुद छ भन्ने नेपाल सरकारकाे तर्फबाट त्यसलाई यस गरिमामय सदनमा पेस गर्न सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्छु ।'
एसपीपीसम्बन्धी हालै सार्वजनिक भएकाे मस्याैदा घातक र गम्भीर रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । राष्ट्रियतालाई धरापमा पार्ने विषय समेटिएकाे मस्याैदा एकदमै गम्भीर भएकाे भन्दै उहाँले राष्ट्र, राष्ट्रियता, सार्वभाैमसत्ता, सम्प्रभुता, स्वाधिनता र स्वतन्त्रतालाई गम्भीर प्रभाव पार्ने बताउनुभयाे । साे मस्याैदा नेपालकाे सार्वभाैमसत्तालाई साेझै दख्खल दिने कुरा भएकाे बताउनुभयाे ।
