काठमाडाैं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा नराखिएको बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै भट्टराईले अर्थमन्त्रीसँग नैतिकता अपेक्षा गर्नु धेरै हुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'उहाँसँग कुनै नैतिकताकाे अपेक्षा छैन,यत्तिकाे प्रश्न उठिसकेपछि त्याे पदमा रहिरहने कुरा व्यक्तिकाे एउटा नैतिकतासँग पनि सम्बन्धित कुरा हाे,तर हामी उहाँसँग कुनै अपेक्षा गर्दैनाैं,किनभने त्याे व्यक्तिकाे अन्तरनिहीत गुण पनि हाे,उहाँसँग त्याे अपेक्षा गर्नु अलि बढि नै हुन्छ ।'
भट्टराईले देशकाे राष्ट्रिय अर्थतन्त्र धराशायी पार्ने करका दर फेरबदल गरिसकेपछि, सप्रणाम कुरा उठिसकेपछि,संसद्मा प्रमुख प्रतिपक्षीले कुरा उठिसकेपछि प्रधानमन्त्री र दलसम्बद्ध नेता (माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) किन टुलुटुलु हेरेर बस्नुभएकाे छ भन्ने प्रश्न गर्नुभयाे । यसबारे प्रधानमन्त्री माैन हुनुले यसमा अरु पनि संलग्न रहेकाे प्रष्ट हुने बताउनुभयाे ।
गृह मन्त्रालयले यसअघि जारी गरेको निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सीसीटिभी फुटेजहरु ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको भन्दै १३ दिनमै डिलिट हुनुको कारणबारे जवाफ दिनुपर्ने माग बताउनुभयाे ।
यस बिषयमा संसदीय छानविन समिति गठन गर्न सभामुखको समेत ध्यानाकर्षण गराउनुभयो ।
