काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे चाँडै नै सदनमा छलफल हुने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले साे महाअभियाेग प्रस्तावमाथि चाँडै नै सदनमा छलफल हुने दाबी गर्नुभयाे । यस बिषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसद्को चालु अधिवेशनमा नै छलफल हुने उहाँकाे दाबी छ ।
बजेट पारित गराउने पहिलो दायित्व भएकाले सदनमा साे महाभियोग प्रस्तावबारे छलफल गराउन केही ढिला भएकाे मन्त्री शर्माले बताउनुभयाे । 'संसद्को बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो, अब त्यो पास भइसकेको छ, बजेट पास भइसकेपछि बाँकी रहेका विधेयकहरू आउँदैछन्, महाभियोगलाई पनि छिट्टै हामी संसद्मा छलफल गराउँदैछौं,संसद्मा छलफल गराउने कुरामा चाहीँ कार्य व्यवस्था परामर्श समितिमा छलफल पनि चलिराखेको छ,अब त्यो धेरैबेर रहन्न'-उहाँकाे भनाइ छ ।
५ दलीय गठबन्धनमा आवद्ध ९८ सांसद्ले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए
