काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मालाई बोल्न दिइएपछि नेकपा एमालेले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ । अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन विशेष समिति गठन भएकाे छ ।
समिति गठन भएपछि अर्थमन्त्रीको हैसियतमा शर्माले बोल्न नपाउने अडान एमालेले राखेको थियो । तर, सभामुख अग्निप्रसाद सापकाेटाले अर्थमन्त्री शर्मालाई बोल्न अनुमति दिएपछि एमालेले बैठक बहिस्कार गरेको हो । अर्थमन्त्रीकाे भाषण मात्र एमालेले बहिष्कार गरेकाे हाे ।
समिति गठन लगत्तै सभामुख सापकाेटाले शर्मालाई अर्थमन्त्रीकाे हैसियतमा बाेल्न समय दिनुभयाे । लगत्तै एमाले सांसद्हरुले उठेर विराेध जनाए । त्यसपछि सभामुखले एमाले सांसद् याेगेश भट्टराईलाई बाेल्न समय दिनुभयाे ।
त्यसक्रममा भट्टराईले अर्थमन्त्रीका रुपमा शर्माले बोल्ने नैतिक हैसियत नभएको बताउनुभयाे । अर्थमन्त्रीले राजीनामा दिएर मात्रै संसद्मा बोल्न पाउने भट्टराईले प्रष्ट पार्नुभयाे ।
छानबिन समिति गठन भइसकेपछि अर्थमन्त्रीले अर्थमन्त्रीका रुपमा बाेल्ने कुनै हैसियत नभएकाे बताउँदै उहाँले भन्नुभयाे - 'पहिला उहाँले राजीनामा दिनुपर्छ वा उहाँलाई बर्खास्त गरिनुपर्छ, त्यसपछिमात्रै हामीले उहाँको भाषण सुन्छौं, अपराध संहिता आकर्षित भएको छ, साइबर ऐन आकर्षित भएको छ, उहाँमाथि कारवाही हुनैपर्छ ।'
