काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने घोषणा गर्नुभएको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उहाँले राजीनामा दिने घाेषणा गर्नुभएकाे हाे । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बनाइएकाे छ ।
संसदीय विशेष छानबिन समितिलाई छानबिन गर्न सजिलो होस् भनी पदबाट राजीनामा दिएको अर्थमन्त्रीकाे दाबी छ । राजीनामाकाे घाेषणा गर्नुअघि अर्थमन्त्री शर्मा एमालेप्रति आक्राेशित देखिनुभयाे । आफूमाथि लगाइएकाे आराेप राजनीतिक पराकाष्ठ रहेकाे शर्माले बताउनुभयाे । आफ्नाे गल्ती नभएकाे भन्दै मन्त्री शर्माले एक मात्र नभएर हजाराैं छानबिनका लागि तयार रहेकाे बताउनुभयाे ।
राजनीनामा नदिने अडान रहनुभएका मन्त्री शर्माले चाैतर्फी विराेध र आलाेचना भएपछि अन्तत: राजीनामा दिनुभयाे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने, अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गर्ने, अर्थ मन्त्रालयकाे सीसीटिभी फुटेज गायब पार्ने लगायत काण्डै-काण्डैमा उहाँ मुछिनुभएकाे छ ।
